निरोज ढकाल , ८ पटक हेरिएको
झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी (रोमा) को हत्या प्रकरणमा प्रहरीले भारतीय नागरिक ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरेसँगै घटनाका नयाँ र चकित पार्ने विवरण सार्वजनिक भएका छन्।
प्रहरीका अनुसार भारतको अररिया घर भई दमकमा बस्दै आएका पण्डितले १३ जेठ मध्यरातमा तिवारीसँग भेटघाटका क्रममा भएको लेनदेन विवादपछि हत्या गरेका थिए। घटनापछि उनले शवलाई बोरामै प्याक गरी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर दमक–१० स्थित सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि फालिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटना भएको तीन दिनपछि, १६ जेठमा स्थानीयले पुलमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुरु भएको अनुसन्धानमा सीसी क्यामेरा फुटेज निर्णायक प्रमाण बनेको थियो। सोही आधारमा प्रहरीले बिहीबार पण्डितलाई दमक–५ स्थित डेराबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका पण्डितले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्। उनीविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा बाहिरिएको अर्को तथ्यले घटनालाई अझ चर्चित बनाएको छ। प्रहरी स्रोतका अनुसार हत्या गरेर शव व्यवस्थापन गरेपछि पण्डित रातभर निदाउन सकेनन्। भोलिपल्ट बिहान उनी दमकस्थित पशुपति मन्दिर पुगेका थिए र आफूबाट गल्ती भएको भन्दै पूजा तथा क्षमायाचनासहित प्रायश्चित गरेका थिए।
प्रहरी स्रोतका अनुसार घटनापछि बदनामी हुने डर र अपराधबोधका कारण उनले यस्तो कदम चालेको देखिन्छ। तर, सीसी क्यामेरा फुटेज, घटनास्थलका प्रमाण र अनुसन्धानको घेराले अन्ततः उनलाई प्रहरीको नियन्त्रणसम्म पुर्याएको हो।
सुरुमा प्रहरीले मृतक युवतीका प्रेमीमाथि पनि शंका गरेको थियो। तर, अनुसन्धानका क्रममा उनको संलग्नताको कुनै आधार नदेखिएपछि अनुसन्धानको दायरा विस्तार गरिएको थियो। त्यसपछि प्रहरीले पण्डितसम्म पुगेर घटनाको रहस्य उजागर गरेको हो।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनासम्बन्धी थप प्रमाण सङ्कलन र कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०६-०६ , समय : १४:३३:२५ , २ घन्टा अगाडि