नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ कोशीमा नयाँ नेतृत्व चयन

इनेपालपत्र , १६  पटक हेरिएको

धरान,  १७ बैशाख ।नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित धरानमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव दुर्गा प्रसाद सिग्देलले कोशी प्रदेशमा प्याराग्लाइडिङजस्ता साहसिक खेलहरूको सम्भावना अत्यन्त उच्च रहेको उल्लेख गर्दै यसको व्यावसायिक विकासले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा टेवा पुग्ने बताए।
संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्व संविधानसभा सदस्य किरण कुमार राईको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन समितिका संयोजक मान भगत चाम्लिङका अनुसार अध्यक्षमा कृष्णबहादुर राई, उपाध्यक्षमा शालिकराम खड्का, सचिवमा धनकुमार लिङ्खिम (लिम्बू), सह–सचिवमा धनकुमार राई तथा कोषाध्यक्षमा झर्ना पौडेल (मुखिया) चयन भएका छन्।
सदस्यहरूमा अमृता राई, ताराहाङ मादेन, विद्या राई, उमेश राई, विजय राई र ज्ञानप्रसाद राई चयन भएका छन् भने बाँकी दुई सदस्य पछि मनोनयन गरिने जनाइएको छ। नव निर्वाचित कार्यसमितिलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र चाम्लिङ राई (भुपाल), केन्द्रीय सदस्य मिलन तामाङ, जिल्ला अध्यक्ष रोशन अधिकारी, सचिव टिकाराम राईलगायतको उपस्थिति रहेको थियो।
प्राकृतिक सौन्दर्य, पहाडी भू–बनावट र अनुकूल हावाको बहावका कारण कोशी प्रदेश प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य मानिँदै आएको छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै जाँदा यस खेललाई व्यवस्थित, सुरक्षित र व्यवसायिक बनाउनेतर्फ संघले विशेष जोड दिएको जनाएको छ।
नव निर्वाचित कार्यसमितिले कोशी प्रदेशलाई नेपालकै प्रमुख साहसिक खेल गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रशिक्षण, पूर्वाधार विस्तार तथा व्यवसायिक प्रवर्द्धनका योजना अघि सारेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०४-३० , समय : १७:३२:२१ , १ घन्टा अगाडि