विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

निरोज ढकाल , ३६  पटक हेरिएको

विराटनगर ।मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले पनि अन्य व्यक्तिहरू सरह स्वतन्त्र र सम्मानजनक जीवन जिउन पाउनुपर्छ भन्ने सन्देशसहित सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

विराटनगर महानगरपालिकाद्वारा सञ्चालित विराटनगर–४ स्थित दुधफारममा रहेको महानगर अटिजम सेवा केन्द्रमा आयोजित उक्त कार्यक्रममा अटिजम सम्बन्धी जनचेतना अभिवृद्धि गराइएको थियो। कार्यक्रममा बोल्दै विराटनगर जेसीजका अध्यक्ष कबिराज दाहालले अटिजम के हो भन्ने विषयमा सही बुझाइ समाजमा विस्तार गर्न तथा अटिजम भएका व्यक्तिहरूलाई समाजमा पुनःस्थापित गराउन सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले अटिजम सेवा केन्द्र सञ्चालन भएको लामो समय बितिसक्दा पनि अन्य संघ–संस्थाहरूबाट अपेक्षित चासो नदेखिएको अवस्थामा विराटनगर जेसीजले केन्द्रको पहिचान गरी सहकार्य गरेको देखेर आफू अत्यन्त खुसी भएको बताउनुभयो। साथै आगामी दिनहरूमा आवश्यक सहकार्य र समन्वय गर्दै केन्द्रको विकास तथा सेवाको विस्तारमा सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा विशिस्ट ब्यक्तित्व एवं पुर्व स्वास्थ्य सचिब एवं बिज्ञको रूपमा वरिष्ठ मनोचिकित्सक डा. रोशन पोखरेल, अतिथिका रूपमा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव, विराटनगर जेसीजका पूर्व अध्यक्षद्वय जेसी श्याम सुन्दर पौडेल ‘मिलन’ तथा जेसी प्रितेश राज दाहाल, महानगर अटिजम सेवा केन्द्रका अटिजम भएका बालबालिका, अभिभावक, सेवा केन्द्रका शिक्षिकाहरू तथा विराटनगर जेसीज परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम मा अटिजम भएका बालबालिकालाई उनिहरुकै फोटो सहित को कप एवं खाद्यान्न बितरण गरिएको कुरा कार्यक्रम सम्योजक बन्दना निरौलाले बताउनुभयो ,

उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी विराटनगर जेसीजका जनसम्पर्क अधिकारी जेसी आकृती रानी फुयलले दिनुभएको छ।

प्रकाशित मिति: २०२६-०४-२९ , समय : २१:११:३४ , १ घन्टा अगाडि