कार दुर्घटनापछि भारतका युट्युबर अनुराग दोभाल ‘UK07 Rider’ को अवस्था गम्भीर

निरोज ढकाल , ५६  पटक हेरिएको

भारतका चर्चित मोटाभ्लगर तथा युट्युबर अनुराग दोभाल (UK07 Rider) को कार दुर्घटनापछि स्वास्थ्य अवस्था गम्भीर बनेको बताइएको छ। उनको स्वास्थ्य अवस्थाबारे उनका म्यानेजरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

 

अनुराग दोभाल यस महिनाको सुरुआतमा दिल्ली–देहरादुन राजमार्गमा भएको कार दुर्घटनापछि अस्पतालमा उपचाररत छन्। दुर्घटनाका क्रममा उनले चलाइरहेको कार डिभाइडरसँग ठोक्किएको थियो। त्यस समयमा उनी इन्स्टाग्राममा लाइभ स्ट्रिम गर्दै थिए।

 

दुर्घटनापछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो। सुरुवाती अवस्थामा स्वास्थ्य अवस्था स्थिर रहेको बताइए पनि पछि जटिलता बढेपछि अवस्था गम्भीर बनेको उनका म्यानेजर रोहित पाण्डेयले बताएका छन्।

 

शनिबार बिहान इन्स्टाग्राम स्टोरीमार्फत स्वास्थ्यबारे अपडेट दिँदै पाण्डेयले भने, “अनुराग भाइको अवस्था बिहानसम्म स्थिर थियो, तर दुर्घटनामा फोक्सोमा आंशिक क्षति पुगेका कारण गम्भीर संक्रमण देखिएको छ। उनलाई गम्भीर निमोनिया भएको पुष्टि भएको छ।”

 

उनले अनुराग हाल चिकित्सकहरूको कडा निगरानीमा उपचाररत रहेको र उनको स्वास्थ्य लाभका लागि सबैलाई प्रार्थना गर्न आग्रह गरेका छन्।

 

अनुराग दोभाल भारतका लोकप्रिय मोटाभ्लगरमध्ये एक हुन्। उनी ‘बिग बोस १७’ मा पनि सहभागी भएका थिए। दुर्घटनाअघि उनले सामाजिक सञ्जालमा गरेको एक लाइभ भिडियोले पनि दर्शकहरूलाई चिन्तित बनाएको थियो।

 

उक्त भिडियोमा उनले व्यक्तिगत जीवनमा समस्या भइरहेको र यो “आफ्नो अन्तिम भिडियो हुनसक्ने” भन्दै भावुक अभिव्यक्ति दिएका थिए। उनले अन्तरजातीय विवाहपछि परिवारबाट मानसिक दबाब भोगिरहेको पनि उल्लेख गरेका थिए।

प्रकाशित मिति: २०२६-०३-१५ , समय : १५:०५:४० , २ दिन अगाडि