मंगलवारेस्थित ईलाका प्रशासन कार्यालय उर्लाबारीमा पासपोर्ट आवेदन हप्तामा दुई दिन मात्र खुला

प्रशान्त निराैला , २०  पटक हेरिएको

मोरङ २७ फागुन । उर्लाबारी नगरपालिका–मंगलवारेस्थित ईलाका प्रशासन कार्यालयमा पासपोर्टका लागि अनलाइन आवेदन फाराम हप्तामा दुई दिन मात्र खुला रहने व्यवस्था गरिएको छ।

कार्यालयका अनुसार प्रत्येक मंगलवार र शुक्रवार बिहान ११ः३० बजेदेखि पासपोर्टका लागि अनलाइन आवेदन दिन सकिनेछ। तोकिएको समयमा आवेदन खुला गरिने र निर्धारित कोटा पूरा नभएसम्म मात्र फाराम भर्न सकिने जनाइएको छ।

ईलाका प्रशासन कार्यालय उर्लाबारीका अनुसार यस कार्यालयबाट महिनामा करिब ८ सयको दरमा पासपोर्ट जारी भइरहेको छ। ईलाका प्रशासन कार्यालयको पासपोर्ट शाखाका प्रमुख विजय गौतमका अनुसार पासपोर्ट छापिएर आउन सामान्यतया २२ दिनदेखि एक महिनासम्म लाग्ने गरेको छ भने कतिपय अवस्थामा १५ दिनभित्रै पनि पासपोर्ट उपलब्ध हुने गरेको छ।

उनका अनुसार पासपोर्ट सम्बन्धी कुनै समस्या देखिएमा ईमेलमार्फत आएको गुनासो वा समस्या तत्काल हेरेर समाधान गर्ने व्यवस्था गरिएको समेत जानकारी दिइएको छ।

प्रकाशित मिति: २०२६-०३-११ , समय : १२:५२:१५ , २ घन्टा अगाडि