निरोज ढकाल , ११ पटक हेरिएको
धनुषा निर्वाचन क्षेत्र नम्बर १ का नेकपा उम्मेदवार मातृका यादवले मतगणना सकिएर आफू विजयी भएको दाबी गरे पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले आयोग कसैको दबाबमा परेर निर्णय लिनबाट पछि हटेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
धनुषामा पत्रकारहरूसँग कुरा गर्दै यादवले आफू विजयी भइसकेको अवस्थामा पनि प्रमाणपत्र नदिइनु शंकास्पद भएको बताए। उनका अनुसार निर्वाचन आयोगले आफ्नो निर्णयमा अडान लिनुपर्ने भए पनि अहिले दबाबमा परेर नतिजा घोषणा नगरेको जस्तो देखिएको छ।
धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोर साहको उम्मेदवारी खारेज गरिएको थियो। उम्मेदवारी खारेज भए पनि रास्वपाले धेरै मत पाएको देखिएको छ। तर साहको उम्मेदवारी नै खारेज भएकाले आफू नै विजयी भएको यादवको दाबी छ।
उनले बन्दसूचीका अन्य २१ जनाको उम्मेदवारी पनि खारेज गरिएको भन्दै अदालतबाट कुनै प्रकारको स्थगन आदेश वा निर्देशन नआएको अवस्थामा नतिजा रोक्नु उचित नभएको बताए।
यादवले भने, “अदालतबाट कुनै प्रकारको स्थगन आदेश वा पत्र आएको छैन। यस्तो अवस्थामा दबाबमा आएर निर्णय रोक्नु ठीक होइन। आयोगले आफ्नो निर्णयमा अडान लिनुपर्छ। विधि, सुशासन र कानुनी प्रक्रियाको कुरा गर्नेहरूले कुशासन देखाउन हुँदैन।”
उनले मतगणनाको सम्पूर्ण प्रक्रिया रेकर्डमा राखेर पनि परिणाम घोषणा नगर्नु आयोगको गलत कदम भएको टिप्पणी गरे। साथै यस विषयमा आफूले पार्टी नेतृत्वलाई जानकारी गराइसकेको र आवश्यक परे आफैँ निर्वाचन आयोगमा पुगेर कुरा गर्ने बताएका छन्।
यादवले रास्वपाबाट दबाब आएको हुनसक्ने आशंका व्यक्त गर्दै निर्वाचन आयोगजस्तो संवैधानिक र स्वायत्त निकायले कुनै पनि दबाबमा नपर्नुपर्ने बताए। उनले आयोगले कानुनअनुसार छिटो निर्णय गरेर नतिजा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
प्रकाशित मिति: २०२६-०३-०९ , समय : १४:५०:०२ , २ घन्टा अगाडि