निरोज ढकाल , ४ पटक हेरिएको
टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको प्रचार गरेको आरोपमा उनलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार कार्कीले सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचार हुने किसिमका भिडियो पोस्ट गरेका कारण उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको हो।
“मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको प्रचारसहितका भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको जानकारी आएपछि हामीले सम्पर्क गरेर उहाँलाई कार्यालयमा उपस्थित गराएका हौँ,” डीएसपी खनालले बताए।
प्रहरीका अनुसार मौन अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्था भएकाले सो विषयमा स्पष्ट बुझ्न कार्कीलाई बोलाइएको हो। अहिले उनीसँग आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
रतन कार्की केही समयदेखि जापानमा बस्दै आएका थिए। उनी केही दिनअघि मात्रै नेपाल फर्किएर चुनावी माहोलसम्बन्धी भिडियो बनाउँदै टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०३-०४ , समय : १७:४१:१८ , २ घन्टा अगाडि