वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

प्रशान्त निराैला , ५  पटक हेरिएको

काठमाडौं, २४ माघ । नेपाली चलचित्रका चर्चित तथा वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा ज्यान गएको हो। हृदयघातला कार्ण थापाको निधन भएको अस्पतालले जनाएको छ । लामो समयदेखि नेपाली र भारतीय चलचित्र क्षेत्रमा सक्रिय रहनु भएका थापाको निधनले कला क्षेत्रमा गहिरो शोक छाएको छ।

नेपाली चलचित्रमा खलनायक भूमिकालाई नयाँ उचाइमा पुर्‍याउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले नकारात्मक भूमिकालाई पनि प्रभावशाली अभिनयद्वारा दर्शकमाझ लोकप्रिय बनाउन महत्वपूर्ण योगदान दिनुभएको थियो।

थापा नेपाली चलचित्र उद्योगका लागि एउटा अमूल्य धरोहरका रूपमा चिनिनुहुन्थ्यो। उहाँको निधनप्रति कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

परिवारका अधिकांश सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि थापा पछिल्लो समय काठमाडौंको शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आउनु भएको थियो।

प्रकाशित मिति: २०२६-०२-०७ , समय : ०९:१३:४१ , ३ घन्टा अगाडि