निर्वाचन आयोगलाई जोडेर भ्रामक सूचना फैलाएको आरोपमा दुर्गा प्रसाईं पक्राउ

निरोज ढकाल , ४  पटक हेरिएको

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार माघ ५ गते दिउँसो उनलाई पोखराबाट नियन्त्रणमा लिइएको हो।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की ले जानकारी दिएअनुसार निर्वाचन आयोगको निर्देशनपछि प्रसाईंलाई पक्राउ गरिएको हो। आइतबार माघ ४ गते निर्वाचन आयोग ले प्रसाईंविरुद्ध कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरो लाई निर्देशन दिएको थियो।

 

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा प्रसाईंले आयोगलाई जोडेर सामाजिक सञ्जालमार्फत भ्रामक तथा गलत सूचना फैलाएको आरोप लागेको छ। आयोगको प्रतिष्ठा र संवैधानिक प्रक्रियामाथि असर पर्ने खालका अभिव्यक्ति सार्वजनिक भएको भन्दै आवश्यक कानुनी कारबाहीका लागि प्रहरीलाई आग्रह गरिएको थियो।

 

साइबर ब्युरोको समन्वयमा कास्की प्रहरीले पोखरास्थित स्थानबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो। हाल उनलाई प्रारम्भिक सोधपुछका लागि कास्की जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रहरी स्रोतका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइने सम्भावना छ। घटनासँग सम्बन्धित डिजिटल सामग्री, सामाजिक सञ्जाल पोस्ट तथा अभिव्यक्तिहरूको प्राविधिक विश्लेषण भइरहेको जनाइएको छ।

 

यस घटनापछि राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। निर्वाचन आयोगले भने संवैधानिक निकायमाथि भ्रम फैलाउने कार्यलाई गम्भीर रूपमा लिइने स्पष्ट पार्दै कानुनअनुसार कडाइका साथ कारबाही गरिने जनाएको छ।

प्रकाशित मिति: २०२६-०१-१९ , समय : १७:४६:११ , २ घन्टा अगाडि