प्रशान्त निराैला , ४ पटक हेरिएको
मन्दिर संरक्षण र धार्मिक पर्यटनमा लेटाङको महत्व झन् उजागर
लेटाङ ३० पुस। प्राचीन हरिद्वार चताधामका पीठाधीश श्री श्री श्री १००८ वालसन्त मोहनशरण देवाचार्य जी महाराजले लेटाङ नगरपालिका–७ स्थित ऐतिहासिक तथा पौराणिक महत्व बोकेको वराहजी मन्दिरको दर्शन गर्नु भएको छ। नगर प्रमुख भूपेन्द्रकुमार लावतीको निमन्त्रणामा महाराजले वाराङ्गी पुगेर वराहजी मन्दिरमा विशेष पूजा–अर्चना तथा दर्शन गर्नु भएको हो।
दर्शनका क्रममा वालसन्त महाराजले वराहजी मन्दिर जस्ता प्राचीन धार्मिक धरोहरहरूको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहले दिएको प्राथमिकताको प्रशंसा गर्नुभयो। उहाँले धार्मिक आस्थासँगै संस्कृतिको जगेर्ना र धार्मिक पर्यटन विकासका लागि यस्ता मन्दिरहरू महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो।
नगर प्रमुख लावतीले लेटाङ क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण, व्यवस्थापन र प्रचार–प्रसारमा नगरपालिकाले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले वालसन्त महाराजको आगमनले लेटाङको धार्मिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
वराहजी मन्दिरलाई लेटाङको प्रमुख धार्मिक सम्पदाका रूपमा विकास गर्ने उद्देश्यले स्थानीयवासी, जनप्रतिनिधि र धार्मिक अगुवाहरूको सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्। वालसन्त महाराजको दर्शनले लेटाङमा धार्मिक क्षेत्रमा थप ऊर्जा र महत्व थपिएको स्थानीयवासीहरूको भनाइ छ।
प्रकाशित मिति: २०२६-०१-१४ , समय : १५:४३:३४ , २ घन्टा अगाडि