निरोज ढकाल , १८ पटक हेरिएको
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन्। देशमा प्रशासनिक निरन्तरता र सुरक्षा कायम राख्नका लागि यो निर्णय गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
राष्ट्रपति मादुरो पक्राउ परेपछि भेनेजुएलाको सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाअनुसार उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक रहेको ठहर गरेको थियो। अदालतको भनाइ अनुसार देशमा सत्ता रिक्तता सिर्जना हुन नदिन र राज्य संयन्त्रलाई निरन्तर सञ्चालनमा राख्न यो कदम चालिएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए। ट्रम्पले अर्को सरकार गठन नहुन्जेल भेनेजुएलाको शासन व्यवस्थामा अमेरिकाको प्रभाव रहने अभिव्यक्ति दिएका थिए, जसले अन्तर्राष्ट्रिय स्तरमा गम्भीर विवाद र आलोचना जन्माएको छ।
डेल्सी रोड्रिगेज भेनेजुएलाको सत्तारुढ राजनीतिक वृत्तमा लामो समयदेखि प्रभावशाली नेतृका रूपमा चिनिन्छिन्। उनी १८ मे १९६९ मा राजधानी काराकसमा जन्मेकी हुन्। उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू तथा ‘लीगा सोशलिस्टा’ पार्टीका संस्थापक थिए, जसले उनको राजनीतिक पृष्ठभूमिमा गहिरो प्रभाव पारेको मानिन्छ।
कानून विषयमा स्नातक गरेकी रोड्रिगेज पेशाले अधिवक्ता हुन्। उनले पूर्व राष्ट्रपति ह्युगो चावेज र वर्तमान राष्ट्रपति मादुरो दुवैको नजिक रहेर काम गरेकी छन्। २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री तथा २०१७ मा संविधान सभाको अध्यक्षको रूपमा उनले जिम्मेवारी सम्हालेकी थिइन्।
सन् २०१८ को जुनमा उनी उपराष्ट्रपतिमा नियुक्त भइन्। त्यसपछि देशको आर्थिक नीति, कूटनीति र प्रशासनिक निर्णयहरूमा उनको प्रभाव निरन्तर बढ्दै गएको छ। सन् २०२४ को अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धको बीचमा भेनेजुएलाको ऊर्जा क्षेत्र सम्हाल्न महत्वपूर्ण भूमिका खेलेको थियो।
उपराष्ट्रपतिका रूपमा रोड्रिगेजले चरम महँगी, आर्थिक संकट र अन्तर्राष्ट्रिय दबाबबीच विभिन्न मन्त्रालयको समन्वय गर्दै सरकार सञ्चालन गर्दै आएकी थिइन्। धेरै विश्लेषकहरूले उनलाई राष्ट्रपति मादुरोकी सबैभन्दा विश्वासपात्र सहयोगी र सरकारको कडा समर्थकका रूपमा लिने गरेका छन्।
मादुरोलाई नियन्त्रणमा लिइएको दाबी सार्वजनिक भएपछि रोड्रिगेजले अमेरिकी हस्तक्षेपको कडा विरोध गर्दै राष्ट्रपति र प्रथम महिलाको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेकी थिइन्। अहिले उनले कार्यकारी राष्ट्रपतिको रूपमा देशको नेतृत्व सम्हाल्दै राजनीतिक संकट व्यवस्थापन गर्ने चुनौती सामना गरिरहेकी छन्।
भेनेजुएलामा विकसित यस घटनाक्रमले देशको आन्तरिक राजनीति मात्र होइन, अन्तर्राष्ट्रिय कूटनीति, सार्वभौमिकता र शक्ति सन्तुलनसम्बन्धी बहसलाई समेत थप चर्काएको छ।
प्रकाशित मिति: २०२६-०१-०४ , समय : १३:३१:३० , १ दिन अगाडि