निरोज ढकाल , ३९ पटक हेरिएको
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा विदेशी हस्तक्षेप चरम सीमामा पुगेको आरोप लगाएका छन्। शनिबार झापामा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अब नेपालमा कुन पार्टीले चुनाव जित्ने र कसले सरकार बनाउने भन्ने निर्णयसमेत विदेशी शक्तिहरूले गर्न थालेको दाबी गरे।
उनले वर्तमान राजनीतिक गतिविधिहरूले नेपालको सार्वभौमसत्तामाथि गम्भीर प्रश्न खडा गरेको बताए। “आज सरकार कसले बनाइदियो? कसको सिफारिसमा मन्त्रीहरू बनिरहेका छन्? यो कुरा लिङ्देनले भनिरहनु पर्दैन, देशका हरेक सचेत नागरिकलाई थाहा छ,” उनले भने।
लिङ्देनले आफूलाई वैकल्पिक र नयाँ शक्ति भनेर प्रस्तुत गर्ने दलहरूप्रति पनि तिखो टिप्पणी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गर्दै उनले चुनावको टुंगो नलाग्दै प्रधानमन्त्री पदको बाँडफाँड भइरहेको भन्दै व्यङ्ग्य गरे।
“चुनाव हुनु कहाँ छ कहाँ छ, जित्ने टुंगो छैन, तर प्रधानमन्त्री को हुने भनेर अहिले नै भागबन्डा भइरहेको छ,” लिङ्देनले भने, “यो सब विदेशी डिजाइनअन्तर्गत भइरहेको छ।”
उनले नयाँ पार्टीहरू विदेशी शक्तिहरूको योजनामा निर्माण भइरहेको दाबीसमेत गरे। “विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदै छन्,” उनले थपे।
अध्यक्ष लिङ्देनले वर्तमान सत्ता समीकरण र वैदेशिक नीतिको आलोचना गर्दै नेपाल भू–राजनीतिक चक्रव्यूहमा फस्दै गएको बताए। उनका अनुसार सत्ता केन्द्रित र असन्तुलित वैदेशिक नीतिका कारण देशको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था सिर्जना भएको छ।
उनले वर्तमान संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीय व्यवस्थाले देशलाई निकास दिन नसकेको ठोकुवा गरे। “एकपटक छातीमा हात राखेर सोच्नुस्, के यही गणतन्त्र र यही संविधानले देशलाई दुर्घटनाबाट बचाउन सक्छ?” उनले प्रश्न गरे।
लिङ्देनले यही व्यवस्था कायम रहे भविष्यमा गम्भीर द्वन्द्व निम्तिन सक्ने चेतावनी दिँदै देश जोगाउन वैकल्पिक मार्ग आवश्यक भएको बताए। “देश बचाउने हो भने राप्रपाको बाटो रोज्नुको विकल्प छैन,” उनले दाबी गरे।
राप्रपा केवल चुनाव जित्न वा मन्त्री बन्नका लागि नभई देशलाई जिताउन र राष्ट्रिय अस्तित्वको रक्षा गर्न अघि बढेको पार्टी भएको उनले उल्लेख गरे। “हामी सत्ताका लागि होइन, देशका लागि राजनीति गरिरहेका छौँ,” लिङ्देनको भनाइ थियो।
उनको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक घटनाक्रम र नयाँ–पुराना शक्तिहरूबीचको प्रतिस्पर्धाको सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: २०२५-१२-२७ , समय : १९:२५:३२ , २ घन्टा अगाडि