शान्ति र चुनावको कुरा, तर कम्युनमा विस्फोटक: विप्लव माओवादीमाथि प्रहरी छापा

निरोज ढकाल , १२  पटक हेरिएको

शान्ति र चुनावको कुरा, तर कम्युनमा विस्फोटक: विप्लव माओवादीमाथि प्रहरी छापा

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको अर्घाखाँचीस्थित कम्युनबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरिएको छ।

 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शुक्रबार बिहान करिब १० बजेतिर शितगंगा नगरपालिका–११ बोक्से क्षेत्रमा गस्तीका क्रममा कोही नबस्ने एक गोठबाट विस्फोटक सामग्री फेला परेको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीको कमान्डमा खटिएको टोलीले गोठ खानतलासी गर्दा भरूवा बन्दुक, ग्रिनेड, डेटोनेटर तथा विभिन्न प्रकारका बम बरामद गरेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार बरामद सामग्रीमा दुई थान भरूवा बन्दुक, १४ वटा ग्रिनेड, १२ वटा डेटोनेटर, लामो लन्चरजस्तै देखिने तीन वटा प्लास्टिक पाइप, पाँच लिटर क्षमताको एक थान प्रेसर कुकर बम, एक थान स्टिल बम, चार बन्डल बिजुलीको तार र करिब ५०० ग्राम बारुद रहेका छन्।

 

भरूवा बन्दुक बाहेक अन्य विस्फोटक सामग्री नेपाली सेनाको सहयोगमा शुक्रबार नै सुरक्षित रूपमा डिस्पोज गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्फोटक कसको स्वामित्वमा थियो भन्ने विषयमा छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।

 

यता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले उक्त घटनाप्रति कडा आपत्ति जनाएका छन्। विज्ञप्ति जारी गर्दै उनले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ स्थित पार्टीले सञ्चालन गरेको कम्युन तथा सर्वसाधारणका घरहरूमा छापा मारेर राज्यले ‘श्वेत आतंक’ मच्चाएको आरोप लगाएका छन्।

 

प्रवक्ता प्रकाण्डले सरकार एकातर्फ शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने भन्दै प्रचार गरिरहेको तर अर्कोतर्फ माओवादीसँग सम्बन्धित उत्पादन केन्द्र र सर्वसाधारणको घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहँदैन भन्ने सन्देश गएको बताएका छन्। उनले यसले देशलाई अझ अशान्तितर्फ धकेल्ने खतरा रहेको चेतावनी पनि दिएका छन्।

 

उनले मानवअधिकारवादी संस्थाहरूलाई घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा गरिएका कारबाहीहरू तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

 

घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने राजनीतिक वृत्तमा यसले थप तरंग सिर्जना गरेको छ।

प्रकाशित मिति: २०२५-१२-२७ , समय : ०८:४०:२० , ३ घन्टा अगाडि