जेन–जी, दलित, महिला र राजनीतिः स्मृती सेन्चुरी किन रास्वपाबाट अपरिहार्य उम्मेदवार ?

दिपेश रोक्का , ७५  पटक हेरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनका लागि पार्टीभित्रै उम्मेदवारी आव्हान गरेर प्रारम्भिक निर्वाचन सञ्चालन गरिरहेको छ । रास्वपाको यो अभ्यास नेपाली राजनीतिक दलको परम्परागत शैलीभन्दा धेरै फरक छ, जहाँ बन्दसूची केही नेताको कोठाभित्र तय हुने गर्र्छ, रास्वपामा भने आन्तरिक लोकतान्त्रिक छनोट प्रक्रिया अघि बढाइएको छ ।

यस प्रारम्भिक निर्वाचनबाट रास्वपाले यही पुस १४ गतेभित्र विभिन्न ६ वटा समावेशी क्षेत्रबाट ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । यही प्रक्रियाको दलित क्लस्टर अन्तर्गत प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेको एक नाम हो, दोलखाकी जेन–जी युवती स्मृती सेन्चुरी ।

तर स्मृती सेन्चुरी केवल ‘दलित कोटाबाट उठेकी उम्मेदवार’ मात्र होइनन् । उनी आजको नेपाली राजनीतिले खोजिरहेको नयाँ पुस्ताको सामाजिक–राजनीतिक प्रतिनिधित्वको एउटा स्पष्ट चित्र हुन् । सामाजिक रूपमा विपन्न दलित समुदायबाट आएकी स्मृती सेन्चुरीका लागि राजनीति कुनै आकस्मिक महत्वाकांक्षा होइन । उनको जीवन स्वयं निरन्तर संघर्ष, अध्ययन र अनुभूतिको उपज हो । समाजशास्त्र विषयको अध्ययनक्रममै उनले नेपाली समाजमा गहिरो रूपमा जरा गाडेर बसेका जातीय, लैङ्गिक र वर्गीय असमानतालाई केवल सैद्धान्तिक रूपमा होइन, व्यवहारमै बुझ्ने अवसर पाइन् । ‘दलित, महिला र युवाले अवसरबाट वञ्चित हुनु केवल तथ्य होइन, दैनिक जीवनको यथार्थ हो ।’ उनी भन्छिन् । यही यथार्थले उनलाई दर्शक बनेर बस्न नसक्ने बनायो ।

स्मृतीको पहिचान केवल दलित महिला हुनुमा सीमित छैन । उनी आफूलाई गर्वका साथ ‘दोलखाकी छोरी’ भन्छिन् । दोलखाको भौगोलिक कठिनाइ, विकासको असमान पहुँच, रोजगारीको अभाव र सम्भावनाको बेवास्ता, यी सबै कुरा उनले नजिकबाट देखेकी र भोगेकी छन् । उनका लागि संसदमा पुग्नु भनेको दोलखाको मात्र आवाज उठाउनु होइन, देशभरका दलित, महिला र युवाको साझा प्रतिनिधि बन्नु हो । उनी समानुपातिक प्रतिनिधित्वलाई पद प्राप्तिको साधन होइन, समावेशी लोकतन्त्रलाई बलियो बनाउने औजारको रूपमा हेर्छिन् ।

स्मृती सेन्चुरीसँग राजनीतिक दल छनोटको आधार स्पष्ट छ, राष्ट्रिय स्वतन्त्र पार्टी । उनका अनुसार रास्वपाले इमान्दारी र पारदर्शितालाई मूल एजेन्डा बनाएको छ, पहुँच र नातावादभन्दा योग्यता र क्षमतालाई प्राथमिकता दिएको छ, पुराना राजनीतिक अभ्यास तोड्ने साहस देखाएको छ, युवालाई केवल नारा होइन, निर्णय तहमा पु¥याउने स्पष्ट नीति लिएको छ । ‘दलित समुदायलाई पुराना दलले मतदाता र कार्यकर्ता बनायो, तर निर्णय तहमा पु¥याएन ।’ उनी भन्छिन्, ‘रास्वपाले त्यो संरचना तोड्ने सम्भावना बोकेको छ ।’ नेपाली राजनीतिमा दलित प्रतिनिधित्व प्रायः कोटा पूरा गर्ने औपचारिकतामा सीमित हुँदै आएको आरोप लाग्दै आएको छ । स्मृती सेन्चुरी भने यो सोचलाई चुनौती दिन चाहन्छिन् ।

उनको दृष्टिमा दलित प्रतिनिधित्व भनेको नीति निर्माणमा दलित दृष्टिकोण स्थापित गर्नु, हिंसा र विभेदका मुद्दामा कानुनी तथा राजनीतिक हस्तक्षेप बढाउनु, शिक्षा, रोजगारी र सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्नु हो । स्मृतीले उठाएका प्रमुख सवाल तथा एजेण्डा स्पष्ट छन्, सामाजिक रूपमा विपन्न समुदाय अझै शिक्षा र रोजगारीबाट वञ्चित हुनु, दलितमाथि हुने हिंसा र विभेदका घटनामा न्यायिक पहुँच कमजोर हुनु, कानुन बने पनि कार्यान्वयनमा राजनीतिक हस्तक्षेप हुनु, सार्वजनिक स्रोतको दुरुपयोग र भ्रष्टाचार, दोलखाजस्ता जिल्लामा आर्थिक पुनरुत्थानको अभाव ।

स्मृती सेन्चुरी दोलखालाई केवल ‘पिछडिएको जिल्ला’को रूपमा चित्रण गर्दिनन् । उनी त्यहाँका खानी, कृषि, जडीबुटी र उत्पादन सम्भावनालाई वैज्ञानिक रूपमा उपयोग गर्नुपर्ने बताउँछिन् । स्थानीय उत्पादनमा आधारित उद्योग, सहकारी र निजी क्षेत्रको साझेदारीमार्फत रोजगारीसहितको आर्थिक पुनरुत्थान उनको प्राथमिकता हो ।

स्मृती सेन्चुरी आज रास्वपाको प्रारम्भिक निर्वाचनमा सर्वाधिक मत ल्याएर निर्वाचित हुनुपर्ने नै पात्रका रूपमा हेरिइरहेकी छन् । उनी केवल व्यक्तिगत योग्यताले होइन, समयको मागले अघि बढेकी पात्र हुन् । आजको जेन–जी पुस्ता नारा होइन, नीति र परिणाम खोज्छ । स्मृती त्यही पुस्ताको प्रतिनिधि हुन्, जो बोल्ने मात्र होइन, जिम्मेवारी लिन तयार छिन् ।

रास्वपाको यो प्रारम्भिक निर्वाचन केवल उम्मेदवार छनोटको प्रक्रिया होइन । यो आन्तरिक लोकतन्त्रको परीक्षा पनि हो । स्मृती सेन्चुरीजस्ता पात्र चयन भएमा रास्वपाले दलित, महिला र युवालाई केवल सूचीमा होइन, संसदको निर्णायक आवाज बनाउने सन्देश दिनेछ ।

प्रकाशित मिति: २०२५-१२-२५ , समय : २०:५९:१५ , २ घन्टा अगाडि