निरोज ढकाल , ४ पटक हेरिएको
तेली खोलामा ४ करोडको पक्की पुल योजना अलपत्र, काम सुरु गराउन मेयरउपमेयरको पहल
लेटाङ ९ पुस । मोरङको लेटाङ ८ जाँते बजारबाट मिक्लाजुङ ५ बेलटार जोड्ने हजारौँ मानिसको दैनिक आवतजावत हुने साथै पर्यटकीय रमितेसहितका क्षेत्रमा पुग्ने वैकल्पिक मार्गका रुपमा महत्वपूर्ण मानिने तेली खोलाको पक्की पुल निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।
उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयन ढिलाइ भएपछि लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले पहल तीव्र बनाउनुभएको छ ।
दुवैले शहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरी पुगेर योजना किन अघि नबढेको भन्ने विषयमा कार्यालय प्रमुख हुतराज चौहानसँग छलफल गर्दै शीघ्र प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ ।
कार्यालयका सूचना अधिकारी धिर फडेराका अनुसार पुल निर्माण बहुवर्षीय खरिद अन्तरगत पर्ने भएकाले गुरु योजना स्वीकृतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाइने तयारी भइरहेको छ । गत वर्ष पनि बजेट परे पनि डिजाइन त्रुटिका कारण पुनः रिडिजाइन गर्दा ठेक्का प्रक्रियामा ढिलाइ भएको र यस वर्ष पुनः बहुवर्षीय स्वीकृतिको प्रक्रिया दोहोरिनु परेको जानकारी दिइएको छ ।
अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मात्र ठेक्का प्रक्रिया अघि बढ्ने प्रावधान रहेको र योजना चाँडो कार्यान्वयन हुने अपेक्षा नगरपालिकाले गरेको छ ।
#Letangkhabar
प्रकाशित मिति: २०२५-१२-२४ , समय : १९:४५:१४ , ३ घन्टा अगाडि