निरोज ढकाल , १४ पटक हेरिएको
लेटाङ–२, पौष । लेटाङ नगरपालिका वडा नं. १ मा श्रम संस्कृति पार्टीको वडा कार्यसमिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब १९० बढिको उपस्थिति रहेको थियो। वडा भित्रका विभिन्न टोलबाट स्थानीयवासीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रमका क्रममा श्रम संस्कृति पार्टीका भेस्ट वितरण गरिएको थियो। उपस्थित वक्ताहरूले श्रम संस्कृति पार्टीलाई माया गर्नु भनेको देश र माटोलाई माया गर्नु सरह भएको धारणा व्यक्त गरे। सहभागीहरूले पार्टीको नीति, दृष्टिकोण र श्रमप्रतिको सम्मानलाई सकारात्मक रूपमा लिएको देखिन्थ्यो।
कार्यक्रमबाट तारा चाम्लिङ राईको अध्यक्षतामा वडा कार्यसमिति गठन गरिएको छ। समितिमा खड्ग मगर वरिष्ठ उपाध्यक्ष, दिनेश लिङ्गदम लिम्बु उपाध्यक्ष, गायज तामाङ उपाध्यक्ष, रमित सुब्बा लिम्बु सचिव, लिमा मगर सह–सचिव र नन्दमाया लिम्बु कोषाध्यक्ष चयन भएका छन्। यससँगै १९० सदस्यीय वडा कमिटी औपचारिक रूपमा गठन भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी लेटाङ नगर अध्यक्ष ललित लिम्बुले पारदर्शिता र जवाफदेहितालाई पार्टीको मूल आधार भएको बताए। उनले आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै यदि एक पैसाको पनि भ्रष्टाचार गरेको प्रमाण फेला परे तत्काल कारबाही गर्न आग्रह गरे। साथै, पार्टीभित्र कसैले भ्रष्टाचार गरेको पाइएमा ठाउँकै ठाउँ कारबाही गरिने स्पष्ट चेतावनी दिए।
उनले एमाले र कांग्रेसका नेताहरूले भत्ता काट्ने कुरा गरेर भोट माग्ने प्रवृत्तिप्रति पनि टिप्पणी गर्दै भत्ता कुनै नेताको व्यक्तिगत गोजीबाट नभई जनताको पसिनाको कमाइ भएको स्पष्ट पारे।
उत्साहजनक जनसहभागिता, स्पष्ट राजनीतिक सन्देश र संगठन विस्तारको संकल्पसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन्।
प्रकाशित मिति: २०२५-१२-१७ , समय : १८:३६:२१ , २ घन्टा अगाडि