ईनेपालपत्र संबाददाता , १० पटक हेरिएको
चीन २९ मंसिर । चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनी ‘चाइना हुआरोङ इन्टरनेशनल होल्डिङ्स (CHH)’ की पूर्व महाप्रबन्धक बाई तियानहुइलाई ठूलो परिमाणको घुस प्रकरणमा मृत्युदण्ड दिएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार उनले सन् २०१४ देखि २०१८ बीच विभिन्न परियोजनाको अधिग्रहण र वित्तपोषणमा सहुलियत दिने नाममा १५६ मिलियन डलरभन्दा बढी रकम अनुचित रूपमा स्वीकार गरेको प्रमाणित भएपछि यस्तो कठोर सजाय सुनाइएको हो।
CHH, चीनको सबैभन्दा ठूलो खराब ऋण व्यवस्थापन संस्था ‘चाइना हुआरोङ एसेट म्यानेजमेन्ट’को सहायक कम्पनी हो, जसमा पछिल्ला वर्षहरूमा व्यापक भ्रष्टाचार भेटिँदै आएको छ। राष्ट्रपति सी जिनपिङको दीर्घकालीन भ्रष्टाचार विरुद्धको अभियानअन्तर्गत हुआरोङ विशेषत: निगरानीमा थियो। यसअघि पनि यसको पूर्व अध्यक्ष लाई सियाओमिनलाई २०२१ मा २५ करोड डलर घुस लिएको अभियोगमा मृत्युदण्ड दिइएको थियो।
उत्तरी तियानजिनको अदालतले बाई तियानहुइको अपराधलाई “अत्यन्त गम्भीर” र “राज्य तथा जनताको हितमा विशेष ठूलो क्षति पुर्याउने” ठहर गर्दै मृत्युदण्ड सुनाएको हो। अन्य धेरै उच्चाधिकारीप्रमाणित भ्रष्टाचारमा जेल सजाय वा निलम्बित मृत्युदण्ड पाउने गरे पनि बाईको सजायमा कुनै निलम्बन नदिइएको उल्लेखनीय छ। उनले फैसला विरुद्ध अपील गरेकी थिइन्, तर सर्वोच्च जन अदालतले फेब्रुअरीमा सजाय यथावत् राखेको थियो।
अन्तिम निर्णय सार्वजनिक भएपछि उनलाई नजिकका आफन्तसँग भेट गर्ने अवसर दिइयो र त्यसपछि मृत्युदण्ड कार्यान्वयन गरिएको जनाइएको छ। तर कसरी मृत्युदण्ड दिइयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। चीनले मृत्युदण्ड सम्बन्धी तथ्यांकलाई राज्य गोप्य राख्ने भएकाले यस्ता घटनाक्रमबारे ठोस जानकारी बाहिर आउँदैन।
हुआरोङका अन्य उच्च अधिकारीहरू पनि लगातार अनुसन्धान र कारबाहीको दायरामा परिरहेका छन्। चीनको वित्त क्षेत्रभित्र फैलिएको व्यापक भ्रष्टाचार सफाइका नाममा भइरहेको यो अभियानलाई समर्थकहरूले आवश्यक सुधारका रूपमा लिन्छन्, तर आलोचकहरू यसलाई राष्ट्रपति सी जिनपिङले राजनीतिक प्रतिद्वन्द्वी हटाउने माध्यमको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।
प्रकाशित मिति: २०२५-१२-१५ , समय : ०८:१९:५८ , ४ घन्टा अगाडि