राजारानी पोखरी पर्यटकको आकर्षणको केन्द्र बन्दै

निरोज ढकाल , ४  पटक हेरिएको

राजारानी पोखरी पर्यटकको आकर्षणको केन्द्र बन्दै

 

लेटाङ २७, मंसिर।मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर १ मा अवस्थित राजारानी क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ। धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको यस क्षेत्रमा दैनिक सयौँ पर्यटकको आगमन हुन थालेको छ। विशेषगरी राजारानी मन्दिर र ऐतिहासिक राजारानी धिमाल पोखरी अवलोकन गर्न विराटनगर, उर्लाबारी, बेलबारीलगायत आसपासका क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन्।

 

लेटाङको उत्तर–पश्चिमतर्फ धिमाल डाँडामा रहेको राजारानी धिमाल पोखरी हरियाली वन, शान्त वातावरण र मनोरम दृश्यका कारण आकर्षक गन्तव्य बनेको छ। यो क्षेत्र मोरङको सदरमुकामबाट करिब ४६ किलोमिटर उत्तरमा पर्दछ भने बेलबारी बजारबाट १६ किलोमिटर र कानेपोखरीबाट १४ किलोमिटर दूरीमा रहेको छ।

 

धिमाल समुदायका लागि अत्यन्तै पवित्र मानिने यो क्षेत्रलाई उनीहरूले आफ्नो उद्गमस्थलका रूपमा स्वीकार गर्दै आएका छन्। धिमाल जातिको पहिलो सामाजिक संस्था ‘धिमाल जाति विकास केन्द्र, नेपाल’ ले पनि यस क्षेत्रलाई ऐतिहासिक भूमि मानेको छ। पछिल्लो समय धिमाल समुदायले यहाँ ‘ग्रामथान’ स्थापना गरी नियमित पूजाआजा गर्दै आएका छन्, जहाँबाट सिरिजात तथा जात्रिमेलाको सुरुआत भई मोरङ र झापाका विभिन्न धिमाल बस्तीमा मेलाहरू आयोजना हुने परम्परा रहेको छ।

 

राजारानी क्षेत्रमा तीनवटा ऐतिहासिक पोखरी रहेका छन्। पश्चिमतर्फ धिमाल राजा पोखरी, पूर्वतर्फ धिमाल रानी पोखरी र बीच भागमा धिमाल राजकुमारी पोखरी रहेका छन्। करिब ४० हेक्टर क्षेत्रफलमा फैलिएका यी पोखरी संरक्षण र पूर्वाधार विकासको अभावमा जीर्ण अवस्थामा पुगेका छन्। स्थानीयवासीले संरक्षण र पुनःनिर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

 

यो क्षेत्र सुनाखरी (अर्किड) फूलका लागि पनि चर्चित छ। पोखरी आसपास करिब ४७ प्रजातिका सुनाखरी र वरपरका वन क्षेत्रमा झण्डै ८० प्रजातिका सुनाखरी फुल्ने अनुमान गरिएको छ। साथै विभिन्न प्रजातिका पुतली, रंगीचंगी माछा, कछुवा, सर्प तथा अजिङ्गरजस्ता जलचरका साथै भारत, साइबेरिया र अष्ट्रेलियासम्मका प्रवासी चराहरू पनि यहाँ देख्न सकिन्छ।

 

समुद्री सतहबाट करिब ५०० मिटरभन्दा बढी उचाइमा रहेको यस क्षेत्रमा गर्मी याममा अधिकतम ३५ डिग्री र न्यूनतम १० डिग्री सेल्सियस तापक्रम रहन्छ भने जाडो याममा तापक्रम २.२ डिग्री सेल्सियससम्म झर्ने गर्छ। यहाँको हावापानी कफी, केरा, अम्बा, अदुवा, चिया, मकै र गहुँजस्ता कृषि उत्पादनका लागि पनि उपयुक्त मानिन्छ।

 

पर्यटकको चाप बढेसँगै स्थानीय व्यवसाय फस्टाउँदै गएको भए पनि सडक, खानेपानी, शौचालय, सूचना केन्द्र र सुरक्षाजस्ता आधारभूत पूर्वाधारको अभाव कायमै छ। स्थानीयवासी तथा सरोकारवालाले राजारानी क्षेत्रलाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारसँग दीर्घकालीन योजना र लगानीको माग गरेका छन्।

 

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक पहिचानले भरिपूर्ण राजारानी धिमाल पोखरी र मन्दिर क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सकिएमा लेटाङ मात्र नभई पूर्वी नेपालको पर्यटन विकासमा यो क्षेत्र महत्वपूर्ण केन्द्र बन्ने विश्वास स्थानीयले व्य क्त गरेका छन्।

प्रकाशित मिति: २०२५-१२-१३ , समय : १९:३९:३२ , ३ घन्टा अगाडि