जेनजी आन्दोलनमा घुँडा मुनी गोली हान्न आदेश दिएको थिएँ, सीडीओ रिजालको अदालतमा खुलासा

निरोज ढकाल , १९  पटक हेरिएको

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गतेको जेनजी आन्दोलनमा बल प्रयोगका आदेश उच्चपदस्थ पदाधिकारीहरूसँग समन्वय गरेर गरिएको दाबी गरेका छन्। सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमा रिजालले संसद भवन आसपास प्रदर्शन उग्र बन्दै पर्खाल तोडफोड र आगजनी शुरु भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यू जारी गर्नुपरेको उल्लेख गरेका छन्। उनले प्रदर्शनकारीलाई तितरबितर पार्ने उद्देश्यले सामान्य बल प्रयोग गरिएको तर स्थितिले झनै तनावपूर्ण मोड लिँदै गएपछि न्यूनतम विकल्पका रूपमा मात्रै घुँडाभन्दा तल रबरको गोली चलाउन निर्देशन दिएको स्वीकार गरेका छन्।

 

रिजालका अनुसार कर्फ्यू आदेश उच्चपदस्थ पदाधिकारीहरूसँग समन्वयमा गरिएको भए पनि ती पदाधिकारीको नाम भने खुलाइएको छैन। उनले आफूले ‘फाइभ फायर’ अर्थात् प्रत्यक्ष गोली प्रहार गर्न आदेश नदिएको दाबी गर्दै संसद भवनभित्र खटिएका विशेष सुरक्षा दस्ताले तत्कालीन परिस्थितिअनुसार बल प्रयोग गरेको बताए। संसद भवनवरपरको तोडफोड, आगजनी, सुरक्षाकर्मीमाथिको हंसात्मक आक्रमण तथा बैंक, कानून आयोग, लगानी बोर्ड जस्ता संवेदनशील संरचनामा जोखिम बढेपछि सुरक्षा दस्ताले बल प्रयोग गर्नुपरेको रिजालको तर्क छ।

 

त्यस दिन १९ जनाको मृत्यु भएको घटनाबाट आफू पदीय र व्यक्तिगत रूपमा मर्माहत भएको उल्लेख गर्दै रिजालले ‘कानून र विवेकअनुसार काम गरेको’ कारण आफूलाई कारबाही हुन नहुने दाबी गरेका छन्। बल प्रयोग बढाउँदै लैजाँदा उच्च तहमा कस्तो समन्वय भयो भन्नेबारे भने उनले विस्तृत विवरण दिएका छैनन्।

प्रकाशित मिति: २०२५-१२-११ , समय : १४:४८:०५ , १४ घन्टा अगाडि