लेटाङ नगरपालिकाद्वारा पहाडी वडाका युवायुवतीहरुलाई पशु प्राविधिक तालिम प्रदान

Niroj Dhakal , १०  पटक हेरिएको

लेटाङ नगरपालिकाद्वारा पहाडी वडाका युवायुवतीहरुलाई पशु प्राविधिक तालिम प्रदान

 

लेटाङ । लेटाङ नगरपालिकाले नगरको पहाडी क्षेत्रका युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको छ । नगरपालिकाले खासगरि वडा नम्बर १, वडा नम्बर ७ र वडा नम्बर ८ को पहाडी क्षेत्रका बाख्रापालक कृषकहरुको समस्या समाधान गर्ने उद्देश्यका साथ त्यसक्षेत्रका १० जना युवायुवतीहरुलाई १ महिने ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको हो ।

 

नगरपालिकाले सूचना प्रकशित गरि १० जना युवायुवती छनौट गरेर पशु सेवा तालिम केन्द्र दुहवीमा पठाएर कार्तीक १६ गतेदेखि मंसिर १९ गतेसम्म खाना बस्न सहित १ महिने तालिम प्रदान गरेको योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो ।

 

शुक्रबार तालिम लिएका युवायुवतिहरुलाई प्रमाणपत्र प्रदान गरि तालिमको समापन गरिएको छ । पशु सेवा तालिम केन्द्र दुवहीका कार्यालय प्रमुख कुमारसिंह खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा उपप्रमुख कृष्णकुमारी निरौला, योजना शाखा प्रमुख चेतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले नगरपालिकाले सञ्चालन गरेको टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने क्रममा पहाडी वडाका वासिन्दाले पशुप्राविधिक सेवा पाउन कठिन र महंगो भएको गुनाशो गरेपछि स्थानीय युवायुवतीहरुलाई तालिम सञ्चालनका लागि बजेट व्यवस्थापन गरि तालिम प्रदान गरिएको जनकारी दिनुभयो ।

 

उहाँले तालिममा सिकेका ज्ञानशीपलाई सदुपयोग गर्दै पशुपालन व्यवसायमा लाग्न तथा गाउँघरमा सेवा प्रदान गरि आयआर्जन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । तलिममा सहभागि भएकाहरुले लगनशिलताका साथ सेवा प्रदान गरेमा नगरपालिकाले थप सहयोग गर्दै जाने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

 

यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले नगरका पहाडी क्षेत्रमा ठूलो संख्यामा बाख्रापालन हुने गरेको भएपनि उपचार सेवाका लागि समस्या भएको गुनाशो आएको आधारमा नगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले तालिममा सहभागिहरुलाई पशुपालन व्यवसाय गर्नुका साथै अन्य पशुपालक कृषकहरुलाई सेवा प्रदान गरेर सिकेको ज्ञानशिप सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

 

यस्तै पशु सेवा तालिम केन्द्रका कार्यालय प्रमुख कुमारसिंह खत्रीले स्थानीय तहहरुले पशुपालनलाई खासै महत्व नदिरहेको बेला लेटाङ नगरपालिकाले कृषि र पशु क्षेत्रलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो ।

उहाँले सहभागी युवायुवतीहरुले अनुसाशित भएर सक्रियतापूर्वक तालिममा सहभागिता जनाएको भन्दै सिकेका ज्ञानशिप सदुपयोग गरि सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा लेटाङका स्थानीय पशु प्राविधिक भूपाल राईले पशुप्राविधिक क्षेत्रमा काम गर्दाको आफ्नो संघर्ष र सफलता सुनाउँदै सहभागी प्रशिक्षार्थीहरुलाई उत्प्रेरणा जगाउनुभयो ।

कार्यक्रममा योजना शाखा प्रमुख चोतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ, पशु चिकित्सक जेनी लावती लगायतले पनि विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।

 

कार्यक्रममा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थीहरुले लेटाङ नगरपालिकाले निकै महत्वपूर्ण तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिएका छन् । उनीहरुले तालिम सैद्धान्तिक र प्रयोगात्मक सहति निकै उपयोगी र महत्वपूर्ण भएको बताउँदै गाउँघरमा गएर सेवा दिन सक्ने प्रतिवद्धता जनाएका छन् ।

 

लेटाङ १ थामडाँडाका रोहित मगरले तालिमबाट पशुको औषधि उपाचार विधि, आहार व्यवस्थापन, रोग पहिचान, रोगको लक्षण, खोर व्यवस्थापन लगायतका विषयमा धेरै महत्वपूर्ण ज्ञान हासिल गरेको बताउनुभयो ।

लेटाङ ७ आहालेकी विमला राईले निकै प्रभावकारी तालिम प्रदान गरेकोमा लेटाङ नगरपालिकालाई धन्यवाद दिँदै अब गाउँमा गएर पशुपालन र उपचार सेवामा लाग्ने प्रतिवद्धता जनाउनुभयो । 

प्रकाशित मिति: २०२५-१२-०५ , समय : १९:५४:१५ , २ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्