किर्तिपुर प्रहरी चौकीलाई स्थायी जग्गा, समुदायको हातबाट सुरक्षाको बलियो आधार बन्दै

निशा दाहाल , ३९  पटक हेरिएको

पथरीशनिश्चरे,२३  साउन। समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यको एउटा प्रेरणादायी क्षण बिहीबार पथरी शनिश्चरे–४ किर्तिपुरमा देखियो। अस्थायी प्रहरी पोष्टका लागि ३ कठ्ठा जग्गाको पूर्जा जग्गादाता नरेन्द्रबहादुर थापा र चन्द्रबहादुर केसीले औपचारिक रूपमा हस्तान्तरण गर्दै प्रहरी चौकीलाई स्थायी बसोबासको बाटो खोलिदिए।

जग्गा खोजविन समितिको अध्यक्ष कपिलमणी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो प्रमुख अतिथि थिए। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद चिमोरिया, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी तुलसीराम अर्याल लगायतको उपस्थितिले कार्यक्रममा गरिमा थपिएको थियो।

वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत र वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपानेले समुदायको सुरक्षा र विकासका लागि यो जग्गा हस्तान्तरण ऐतिहासिक महत्वको भएको उल्लेख गरे।

कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष नविन कार्की, वडा नं. ६ का अध्यक्ष कृष्ण बस्नेत, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, वडा सदस्य तथा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो। सञ्चालन समितिका सचिव विरोज मगरले गरेका थिए।

प्रकाशित मिति: २०२५-०८-०८ , समय : ०९:३९:३० , २ दिन अगाडि