नीति र बजेट मात्र होइन, लेटाङ नगरसभाले देखायो सहभागिता र कदरको नयाँ नमूना

प्रशान्त निराैला , १४  पटक हेरिएको

लेटाङ, ३० असार । आर्थिक वर्ष २०८२/८३ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने बहानामा आयोजित लेटाङ नगरपालिकाको सत्रौँ नगरसभा, केवल औपचारिक दस्तावेज सार्वजनिक गर्ने कार्यक्रम मात्र रहेन। यो अवसर, स्थानीय तहमा सहभागितामूलक शासन, योगदानप्रति कदर र पारदर्शिताको अभ्यास कस्तो हुन सक्छ भन्ने नमूना बन्यो।

प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका वर्तमान नेतृत्व, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, शिक्षक, सामाजिक संस्था, सहकारी, बैंक, खेलकुद क्षेत्र, सामुदायिक वनका प्रतिनिधिदेखि लिएर विद्यार्थी र सम्माननीय नागरिकसम्मको व्यापक सहभागिता थियो। यो विविधता आफैँमा एउटा सन्देश थियो । नगरको भविष्य निर्माणको बहस सबैको हो।

कार्यक्रमको विशेष पक्ष भनेको, नगरले नीतिगत घोषणा मात्र नगरी, विगत वर्षमा योगदान पु¥याउने व्यक्तिहरूलाई मञ्चमै सम्मानित गर्नु रह्यो। विद्यालयलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा पुरस्कृत गरिएको थियो भने सेवा निवृत्त शिक्षक–कर्मचारी, नवप्रवर्तनशील शिक्षक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी, जग्गा दाताहरू र खेलकुद क्षेत्रमा चम्किने युवाहरूप्रति कृतज्ञता प्रकट गरियो।

कसैको निःशुल्क जग्गा योगदानले नगर कार्यालय बन्दैछ, कसैले विद्यालयको नाउँ उज्यालो बनाएका छन्, त कसैले करातेमा प्रदेशलाई जित दिलाएका छन् । यी सबैलाई एउटै मञ्चमा उभ्याउनु नगरसभाको एउटा मानविक उपलब्धि थियो।

यसरी, नगरसभा केवल नीतिगत सत्र रहेन, बरु त्यो लेटाङको समर्पण, योगदान र सहभागितालाई एकैसाथ देखाउने एउटा सजीव दस्तावेजजस्तै बन्यो। जनप्रतिनिधिहरूको जिम्मेवारी र जनताको सहयोगको सन्तुलित चित्र यस नगरसभाबाट स्पष्ट देखिएको छ। लेटाङले नीतिभन्दा अगाडि मानिसलाई राख्ने शैलीमा शासकीय अभ्यास अघि बढाएको संकेत यस सभाले प्रष्ट पारेको छ।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : १७:३६:२० , ९ घन्टा अगाडि