मोरङमा रगतले रंगियो अंशको झगडा : देवरको हँसियाले भाउजूको ज्यान गयो

निशा दाहाल , ११  पटक हेरिएको

मोरङ, २४ असार ।  मोरङको रतुवामाई नगरपालिका–६ मा अंशको झगडाले पारिवारिक सम्बन्धलाई हिंसात्मक मोडमा डोर्याएको छ । आफ्नै देवरले हँसियाको बिँड प्रहार गरी भाउजूको हत्या गरेका छन् ।

असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या उनका ६९ वर्षीय देवर टंकबहादुर बस्नेतले गरेको मोरङ प्रहरीको भनाइ छ । टीकामाया बोल्न नसक्ने महिला थिइन् र इसारामार्फत मात्रै कुरा गर्ने गर्थिन् ।

मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेनी भाइ टंकबहादुरबीच पुर्ख्यौली सम्पत्तिको बाँडफाँट विषयमा झगडा चर्किएको थियो । अदालतले गणेशबहादुरलाई पनि अंश पाउने फैसला गरेपछि टंक आक्रोशित बनेको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी कोपिला चुँडालले बताइन् ।

घाँस काट्न गएका बेला टीकामायाको शव बारीमै भेटिएको थियो । पोस्टमार्टमका क्रममा उनको घुच्चुकमा गहिरो चोट भेटिएको थियो । प्रहरीले घटनामा प्रयोग गरिएको हँसिया टंककै घरबाट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारीको टोलीले अनुसन्धान अघि बढाउँदै सोमबार दिउँसो टंकलाई घरमैबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार टंकले अंश विवादकै कारण केही समयदेखि भाउजूलाई गालीगलौज गर्दै कुटपिटको समेत प्रयास गर्ने गरेको पाइएको छ । “टंक विगतदेखि नै भाउजूलाई लक्षित गर्दै आक्रामक हुँदै गइरहेको देखिन्छ,” डीएसपी चुँडालले भनिन्, “हत्यासम्बन्धी थप प्रमाण संकलन भइरहेको छ ।”

प्रकाशित मिति: २०२५-०७-०८ , समय : १२:१४:३४ , ६ घन्टा अगाडि