कम्युनिस्टले आदिवासी जनजातिलाई ढाट्यो- सचेतक राई

Enepal Patra Pvt. Ltd. , २१८१  पटक हेरिएको

कानेपोखरी, १ माघ । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईले कम्युनिस्टहरुले नेपालका आदिवासी जनजातिहरुलाई ठगेको आरोप लगाउनु भएको छ ।
किरात नयाँ बर्ष येले दोङ ५०८० को अवसरमा किराँत राई यायोख्खा कानेपोखरीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका राईले सो कुरा बताउनु भएको हो । जात र पहिचानको आधारमा राज्य दिने भन्दै आदिवासी जनजातिलाई बन्दुक भिराएर युद्धमा होमिन लगाएका कम्युनिष्टहरू सत्तामा पुगेपछि विगतका प्रतिवद्धता विर्सिएको बताउनु भयो । उहाँले कम्युनिस्टहरुले अहिले आएर प्रदेशको नामाकरण गर्ने क्रममा आफ्नो असली रुप देखाएको चर्चा गर्दै सम्पुर्ण आदिवासी जनजातिलाई उल्लु बनाएको बताउनु भयो । हिजो मर्न र मार्नका लागि मात्रै आदिवासी जनजातिलाई प्रयोग दाबी गर्दै कांग्रेसका युवा नेता राईले भन्नुभयो – अझैं पनि हामी आदिवासी जनजातिहरु कम्युनिस्टको इमानदार भरिया भएर उसले पार्टीको सचिवालयमा गरेका निर्णयलाई साछी किनारमा बसेर समर्थन गरिरहेको देख्दा दुख लाग्छ । कांग्रेसले कहिले पनि आदिवासी जनजातिको अधिकारलाई कुण्ठित नगरेको बताउँदै उहाँले आदिवासी जनजातिलाई सम्मानजनक हैसियतमा राखेको उल्लेख गर्नुभयो । आदिवासी जनजातिको सबैभन्दा भरपर्दो पार्टी कांग्रेस भएको बताउँदै उहाँले देशमा अहिले नेकपा सुविधाजनक बहुमतमा भएपनि आदिवासी जनजातिको कुरा सुन्नुपर्दा नेकपा कान थुनेर बस्ने गरेको आरोप लगाउनु भयो ।
जात र पहिचानको आधारमा राज्य दिन्छु भन्ने पार्टी सरकारमा हुँदा प्रदेश सभाको अधिकारलाई हाइज्याक गरेर पार्टीको सचिवालयबाट निर्णय गर्ने अवस्थामा पुगेको तितोसत्य देखिएको उहाँको भनाई थियो । उहाँले थप्नुभयो –त्यही भएर तमुवान पनि भएन, ताम्सालिङ पनि आएन, न त नेवा न त थारुवान । राईले अब १ नम्बर प्रदेश पनि किराँत प्रदेश हुन नसक्ने भन्दै पुच्छरसम्म जोड्न पनि नेकपाले नचाहेको आफुले बुझेको बताउनु भयो । एक नम्बर प्रदेशका पहिचानवादीहरु जिल्ल पर्ने दिन टाढा नभएको बताउदै प्रदेशको नाम कोशी वा सगरमाथामध्ये एउटा हुने उहाँको भनाई थियो ।
् पूर्वमा ठुलो स्वरले कम्युनिस्टको गीत गाउने किराँतीहरुको हालत हरियो बुढी किच्च दाँत हुने पक्कापक्की भएको उहाँले बताउनु भयो । कांग्रेसले एक नम्बर प्रदेशको नाम किराँत राख्दा कुनै आपत्ति नजनाउने बताउँदै दलको नेताले समेत यस बारेमा स्पष्ट गरिसकेको सचेतक राईले बताउनु भयो । राईले दलभित्रको छलफलमा किराँत प्रदेशको बिषयमा आफुले छलफल चलाएको र आफ्नो दल यसबारेमा सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
प्रदेश १ मा नेकपाको स्पष्ट बहुमत छ संविधानले स्पष्ट भनेको छ कि सहमति कि प्रक्रिया ।तर नेकपा किन अलमल गरिरहेको छ त ? यो बुझ्नुपर्ने कुरा हो।त्यसैले किराँती समुदाय अब कम्युनिस्टको इमानदार भरिया मात्रै बन्ने कि मालिक बन्ने हो ? राईले भरिया मात्रै बन्ने हो भने कम्युनिस्टमै बस्न र मालिक बन्ने हो भने कांग्रेसमा आउन आग्रह गर्नुभयो ।
कानेपोखरी गाउँपालिकाका किरात राई यायोख्खाका अध्यक्ष वुद्धिराज राईको सभापतित्वमा भएको कार्यक्रममा यायोख्खाका केन्द्रीय सदस्य नवीन राई, यायोख्खाका अभियन्ता रामकाजी राई लगायतले बोल्नु भएको छ ।

प्रकाशित मिति: २०२०-०१-१५ , समय : २१:०६:४० , ४ वर्ष अगाडि