प्रशान्त निराैला , ७ पटक हेरिएको

सञ्जय मिश्रा
रौतहट, १ असार। रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन्।
मेयर जैसवालको पहलमा गरुडाको बिभिन्न वडाहरुमा लाखौं रुपैयाँको लगानीमा अनेक किसिमका विकास निर्माणको काम सुरु गरिएको हो।
गरुडा ९ रघुनाथपुर श्रीपुरमा स्वास्थ्य चौकी भवनको छत ढलान कार्य शनिवार देखी सुरू भएको छ । करिब २० लाखको लागतमा निर्माण भइरहेको यो संरचना स्थानीय बासिन्दाहरूको सहज स्वास्थ्य सेवा पहुँचका लागि महत्वपूर्ण हुनेछ । उक्त अवसरमा आयोजित कार्यक्रममा मेयर जैसवालले स्वास्थ्य, शिक्षा र पूर्वाधार यिनै तीन आधारमा विकासको गति अघि बढाइरहेको बताए ।
गरुडा– ७ अन्तर्गत पिपरिया र भिनडाबरका किसानहरूलाई लक्षित गरी सिँचाइ सुविधा सुधार गर्न कृषि प्रयोजनका लागि विद्युत पोल जडान गरिएको छ ।
स्थानीय कृषकहरूलाई आधुनिक र सहज सिँचाइ पहुँच सुनिश्चित गर्दै आत्मनिर्भर कृषि प्रणालीतर्फको हाम्रो प्रतिबद्धता अझ बलियो बनाइएको मेयर जैसवालले बताए ।
त्यस्तै, गरुडा–२ गेडीगुठीमा किसानहरूको सिँचाइ सुविधा विस्तार गर्न विद्युतीय पोल जडान कार्य सुरु गरिएको छ । स्थानीय आवश्यकता र किसानको मागलाई प्राथमिकता दिँदै कृषि क्षेत्रमा सुधार ल्याउने हाम्रो प्रयास निरन्तर जारी रहेको उनको भनाई छ ।
गरुडा–६ पोठियाहीमा नगर बजेट अन्तर्गत १० लाख रुपैयाँको लागतमा १०० मिटर लम्बाइ र १४ फिट चौडाइको पक्की सडक ढलान कार्य भईरहेको छ। स्थानीय पूर्वाधारको विकासमार्फत जनताको दैनिक जीवन सहज बनाउन गरुडा नगरपालिका निरन्तर क्रियाशील रहेको छ ।
त्यस्तै गरुडा– ६ पोठियाहीमा १३१ मिटर लम्बाइको नाला निर्माण कार्य भईरहेको छ। नगर स्तरीय बजेटबाट ६ लाख ७५ हजार लागतमा निर्माण हुन लागेको यो नाला स्थानीय स्तरमा सरसफाइ, ढल निकास तथा वातावरणीय सुधारमा टेवा पुर्याउने विश्वास लिएको मेयर जैसवालले न्युजकारखानालाई बताए ।
गरुडा नगरको समुन्नत र व्यवस्थित विकासका लागि यस्ता पूर्वाधार निर्माण कार्य निरन्तर अगाडि बढाइने उनले प्रतिवद्धता जनाएका छन्।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : १३:१७:५६ , ९ घन्टा अगाडि