पाँच महिनामा १५५ जनाको सडक दुर्घटनामा मृत्यु

Enepal Patra Pvt. Ltd. , ८४१  पटक हेरिएको

हरि कोइराला
इटहरी, माघ ४ । चालु आर्थिक वर्षको पछिल्लो ५ महिनामा प्रदेश नं. १ मा ५५५ वटा दुर्घटना भएका छन् । दुर्घटनामा १३५ जनाको मृत्यु भइसकेको छ भने १ हजार ३६ जना घाइते भएका छन् । साउन यता हरेक महिना दुर्घटना र मृत्यु क्रमश बढ्दो अवस्थामा रहको देखिन्छ । सवारी साधन आयातको तुलनामा सडक बिस्तार नहुँदा प्रदेश नं. १ मा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको ट्राफिक प्रहरीको भनाई छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश नं १ मा ६ हजार ५५ किलोमिटर सडक रहेको छ भने ५ लाख ८० हजार ८०३ वटा सवारी साधन दर्ता भएका छन् । यसका अतिरिक्त अन्य प्रदेशमा दर्ता भई प्रदेश १ मा सञ्चालन हुने सवारी साधनको सङ्ख्या पनि उच्च छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईका अनुसार प्रदेश नं. १ मा गत आर्थिक वर्ष ०७४÷०७५ मा १ हजार २ सय ७९ वटा दुर्घटना भएका थिए । सो वर्ष दुर्घटनामा परी ४२४ जनाको मृत्यु भयो भने २ हजार ७२ जना घाइते भए । आर्थिक वर्ष ०७३÷०७४को सोही अवधिमा १ हजार ३ सय ९८ वटा दुर्घटना हुँदा ३५० जनाको मृत्यु भएको थियो भने २ हजार ६२० जना घाइते भए । ०७४÷०७५ को तुलनामा ०७३÷०७४मा दुर्घटना र घाइतेको सङ्ख्या बढी भए पनि मृत्यु हुनेको सङ्ख्याको सङ्ख्या भने ७४ ले कमी छ।
यस्तै प्रहरी उपरिक्षक प्रसाईका अनुसार चालु आवको साउनमा १३६,भदौमा १४६,असोजमा १४३,कात्तिकमा १६२ र मङ्सिरमा १८७ वटा दुर्घटना भएका छन् । यस्तै सोही अवधिमा साउनमा २०, भदौमा १९,असोजमा २५,कात्तिकमा ३२ र मङ्सिरमा ३९ जनाको मृत्यु भएको छ । प्रसाईले भन्नुभयो–‘असोजमा दुर्घटना सङ्ख्या घटि छ भने भदौमा मृत्युको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १ कमी छ ।
प्रहरी उपरिक्षक प्रसाईका अनुसार प्रदेश नं. १ मा एक जना ट्राफिक प्रहरीले ३० किलोमिटर सडकको ट्राफिक ब्यवस्थापन र २ हजार ९सय ३३ वटा सवारी साधन हेर्नुृपर्छ । उहाँले १ सय ९८ जनाको दरवन्दी रहेपनि हाल ३ सय ४७ जना जनशक्तिले काम गरिरहेको बताउनु भयो ।
पछिल्लो समय ट्राफिक ब्यवस्थापन प्रभावकारी बनाउन सडकमै सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको क्षेत्रीय ट्राफिक प्रहरीले सुनसरीको रामधुनी ,मोरङको विराटचौक,झापाको लक्ष्मीपुर र इलामको हर्कटेमा दुर्घटना न्युनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै उदयपुरको बगाहा र धनकुटाको कागतेमा पनि दुर्घटना न्युनीकरण अभियान सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: २०१९-०१-१८ , समय : १८:१३:०२ , ५ वर्ष अगाडि