ईनेपालपत्र , १२७ पटक हेरिएको

लेटाङ, ११ माघ । मोरङको लेटाङमा रहेको लेटाङ समावेशी संस्थाको दोस्रो वार्षिक साधारण सभा आज लेटाङ-३ नमुना सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा लेटाङ नगरपालिकाकी अधिकृत सुश्मा कोइरालाको प्रमुख आतिथ्य रहेको थियो।
प्रमुख अतिथि सुश्मा कोइरालाले आफ्नो मन्तव्यमा अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकार सुनिश्चित गर्न राज्य र समाजको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले लेटाङ समावेशी संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि गरिरहेका प्रयासहरूको प्रशंसा गर्दै आगामी दिनमा यस्ता संस्थाहरूसँग सहकार्य गर्न नगरपालिकाले तत्परता देखाउने आश्वासन दिनुभयो। साथै, अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगार, शिक्षा, र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न नीति निर्माण तहमा ध्यान दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष तेजप्रसाद लिम्बुले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्यको दृष्टिकोण अझै पनि परिवर्तन हुन नसकेको बताउनुभयो। उहाँले संस्थाले यी वर्गका व्यक्तिहरूका हकहितमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो।
त्यसैगरी संस्थाकी कोषाध्यक्ष सीता श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक आर्थिक गतिविधिहरूको जानकारी गराउनुभयो।
कार्यक्रमको सञ्चालन समेत श्रेष्ठले गर्नुभएको थियो।
साधारण सभामा संस्थाका सदस्यहरू, स्थानीय नागरिक, तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२५-०१-२४ , समय : १६:१५:४० , ८ महिना अगाडि