ईनेपालपत्र , ६२ पटक हेरिएको
काठमाडौं २४ मंसिर। अहिले बाराको गढीमाई मन्दिरमा दर्शन गर्न भारतीय तथा नेपाली दर्शनार्थीहरुको घुइँचो लागेको छ । गढीमाई मन्दिरमा यही मंसिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ ।
विश्वमै सबभन्दा बढी बलि दिइने प्राचीन गढिमाई मन्दिरमा आइतबारदेखि विधिवत रुपमा पशु बलि शुरु भएको छ । नेपाल, भारत तथा सार्क राष्ट्रका देशबाट भाकल पुरा भएका भक्तजनहरुले गढिमाईलाई चढाउन ल्याएका लाखौ रांगा, बोका, कुखुराहरुको बलि शुरु भएको हो ।
गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताउनुभएको छ । उहाँले विगतका वर्षमा जस्तै यसपल्ट पनि पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो रहेको बताउनुभयो । महिनाभरि लाग्ने मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरु उपस्थित हुने अपेक्षा रहेको र त्यसमध्ये भारतीय पर्यटकको संख्या ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको यादवले बताउनुभयो ।
गढीमाईमा मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापले गर्दा बाराको सदरमुकाम कलैयादेखि मन्दिर क्षेत्र बरियापुरसम्म अत्यधिक भीड छ । यसले ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको छ ।
आइतबार बिहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । यस्तै आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । करिब १० हजारभन्दा बढी राँगाको बलि दिइसकेको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । आज भने बिहानैदेखि बोकाको बलि चढाँदैछ ।
नेपालको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिएको गढिमाई मेला हरेक पाँच वर्षको अन्तरालमा लाग्ने गर्दछ ।
प्रकाशित मिति: २०२४-१२-०९ , समय : १६:०८:२२ , १ महिना अगाडि