वारङिमा अस्थायी प्रहरी चौकीको उद्घाटन: शान्ति सुरक्षामा सुधारको अपेक्षा

प्रशान्त निरौला , १४२  पटक हेरिएको

लेटाङ, ५ भदौ – मोरङ जिल्लाको लेटाङ नगरपालिका–७ वारङिमा आज अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको छ। यो चौकी उद्घाटनसँगै क्षेत्रको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतिले प्रमुख अतिथिको रुपमा चौकीको उद्घाटन गर्दै, यसले स्थानीय जनताको सुरक्षामा महत्वपूर्ण योगदान गर्ने बताए।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौला, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, लेटाङ नगरपालिका प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद न्यौपाने, उधोग बाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष भिम पौडेल, नेपाली काँग्रेस पार्टिका वडा सभापति गौतम लिम्बू, महेन्द्र माविका प्रधानध्यापक फम कुमार मगर लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

उद्योगी भिम पौडेलले प्रहरी चौकीलाई यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउन एउटा मोटरसाइकल व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसबाट चौकीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न थप सहयोग पुग्नेछ।

अस्थायी प्रहरी चौकी वारङिमा प्रहरी सहायक निरीक्षक रोहित कुमार भुजेलको नेतृत्वमा पाँच जनाको प्रहरी टोलीले सेवा दिनेछ।

प्रहरी चौकी स्थापना भएसँगै स्थानीय क्षेत्रमा शान्ति सुरक्षामा सुधार आउने, अपराध नियन्त्रणमा सहजता हुने, र स्थानीय जनताको बीचमा सुरक्षा महसुस बढ्ने विश्वास गरिएको छ। यसले विशेष गरी महिलाहरु, व्यवसायी, विद्यार्थी, र किसानहरुलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।

कार्यक्रमको सञ्चालन लेटाङ २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले गरेका थिए। कार्यक्रम लेटाङ नगरपालिका–७ का कार्यबाहक अध्यक्ष आदिमान लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो।

अस्थायी प्रहरी चौकीको स्थापना हाल उपस्वास्थ्य चौकीमा प्रदान गरिएको जग्गामा गरिएको हो, जुन जग्गा बिजय कार्कीले आफ्ना स्वर्गीय मातापिता रन्जित कार्की र नरमाया कार्कीको स्मृतिमा उपस्वास्थ्य चौकीलाई दान गरेका थिए।

यो चौकी स्थापनाले स्थानीय क्षेत्रमा शान्ति सुरक्षाको नयाँ युगको सुरुवात गरेको छ, जसले सामुदायिक विकासमा योगदान पुर्‍याउनेछ।

प्रकाशित मिति: २०२४-०८-२१ , समय : २३:०१:२८ , ११ महिना अगाडि