युएईमा गुन्जिए उदय-मनिला

ईनेपालपत्र संबाददाता , १५२  पटक हेरिएको

रामप्रसाद ढुंगेल
युएई, २ बैशाख । नयाँ वर्षको अवसरमा नेपाली सुगम सङ्गीतका लोकप्रिय युगल जोडि उदय र मनिला सोताङ युएईमा गुन्जिएका छन् ।

युएईको दुबई र अबुधाबीमा उदय र मनिलाले आफ्ना प्रस्तुति दिएर नेपालीहरुलाई रमाइलो साङ्गीतिक माहोल सिर्जना गर्न सफल भएका छन् ।

नेपाली डिउड र जात्रा द इभेन्ट्सको आयोजनामा भएको साङ्गीतिक कार्यक्रममा उदय र मनिलाले करिब १ दर्जन गीतहरु गाएर दर्शकहरुलाई पुर्ण मनोरञ्जन दिलाएका थिए ।

गत शुक्रबार दुबईको एस फोर्टी सेभेन क्लबमा उदय र मनिला गुन्जिएका थिए भने भोलिपल्ट (शनिबार) अबुधाबीको टुरिष्ट क्लबको दाना होटलमा शुभकामना आदानप्रदानका साथमा उदय-मनिलाले आफ्ना कालजयी गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा डिजे शेर्पिनी र गायक आशिषले पनि आफ्नो प्रस्तुति राखेका थिए ।

उदय मनिलाले उकाली चढौंला,ओराली झरौला… देखि अलिअली…हजार जुनीसम्म हुँदै भिज्यो सिसानी रातमा…लयायतका आफ्ना गायन यात्राका लोकप्रिय १२ वटा गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाउन सफल भएका थिए । उनीहरूले केही हिन्दी गीतहरू समेत गाएर नयाँ वर्षको पहिलो रातलाई गुल्जार बनाएका थिए ।

परिवारका सदस्यसहित आएका दर्शकदीर्घमा महिलाहरुको उपस्थिति बाक्लो थियो । सुगम संगीतका पारखीहरुले उदय र मनिलालाई कहिले गाएर र कहिले नाचेर साथ दिएका थिए । उदयले बीचबीचमा मनिलासँगका प्रेम कहानीदेखि साङ्गीतिक यात्राका छोटाछोटा किस्सा सुनाएर रातलाई थप उल्लासमय बनाएका थिए ।

आयोजक शिव श्रेष्ठले नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिंदै सुगम संगीतलाई माया गर्ने सबैलाई आभार व्यक्त गरे भने गायक राजु लामाको एकल प्रस्तुति हुन लागेको जानकारी समेत दिए ।

प्रकाशित मिति: २०२४-०४-१४ , समय : १७:१९:५० , २ हप्ता अगाडि