सरकारका २२ महिना उत्साहजनक – मन्त्री ज्ञवाली

Enepal Patra Pvt. Ltd. , ५९०  पटक हेरिएको

 

उर्लाबारी, पुस १८ । सङ्घीय सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारका २२ महिना अत्यन्तै उत्साहजनक भएको बताउनु भएको छ । उहाँले सो कुरा मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको १९ औं वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै बताउनु भएको हो ।
मन्त्री ज्ञवालीले मुलुकमा विखण्डनको नारा लगाउनेहरू समेत राजनीतिको मूल धारमा आइसकेकोले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएको दाबी गर्नुभयो । मन्त्री ज्ञवालीले संविधान जलाउने र मान्दैनांै भनेर सडकमा आगो बाल्नेहरू पनि कोही सरकारमा गइ सकेको र कोही जाने तयारीमा रहेको बताउनु भयो । उहाँले हत्या हिंसाको बाटो त्यागेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा आउन नेकपा विप्लवलाई आग्रह समेत गर्नुभयो । उहाँको भनाई थियो – रगत माथि होलि खेलेर नेपाली नागरिकले अब केही पाउँदैनन् ।
मन्त्री ज्ञवालीले बाह्य मुलुकसँगको परराष्ट्र सम्बन्ध समेत सुध्रिदै गएको उल्लेख गर्दै २३ वर्षपछि चीनका महामहिम राष्ट्रपतिले नेपाल भ्रमण गर्नु त्यसको एउटा उदाहरण भएको बताउनु भयो । उहाँले भन्नुभयो – पछिल्लो समय नेपाल दक्षिण एसियाको उदाउँदो अर्थतन्त्र भएको मुलुक बनिरहेको छ । नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ पुगेको बताउँदै उहाँले अबको १० वर्ष अगावै नेपाली युवा घरको चुलो बाल्ने बाध्यताले होइन, रहरले घुम्न मात्र बिदेश जाने दाबी गर्नुभयो । उहाँले सरकारले सानोतिनो भए पनि साडे ३ लाख युवालाई रोजगार दिने कार्यक्रम ल्याएको बताउँदै मुलुकमा लगानी मैत्री वातावरण तयार भइरहेको उल्लेख गर्नुभयो ।
मदन भण्डारीको ब्यक्तित्व माथि धेरै समय खर्चिनु भएका मन्त्री ज्ञवालीले ५ वर्षमा एक पटक मत प्रयोग गर्ने र संघ , संगठन खोल्न पाउँदैमा प्रजातन्त्र प्राप्त हुँदैन भन्ने मदनको आदर्श अहिले पुरा भएको बताउनु भयो । मदन उसैबेला गरिवको आङ्मा लुगा, भोको पेटमा अन्न र विरामी हुँदा उपचार पाउँने अधिकार सहितको प्रजातन्त्रले मात्र मुलुकको आर्थिक रुपान्तरण हुने धारण राख्नुहुन्थ्यो , उहाँले संस्मरण गर्दै भन्नुभयो । ४१ वर्षको उमेरमा २ वर्ष संसदमा ,३ वर्ष खुला राजनीतिमा र साडे ३ वर्ष पार्टीको प्रमुख नेतृत्वमा रहनु भएका मदन भण्डारी २० औं शताब्दिको सबैभन्दा लोकप्रिय नेता भएको मन्त्री ज्ञवालीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकार प्रदेश सरकार र सङ्घीय सरकार बीच समन्वयको खाँचो औल्याउँनु भयो । उहाँले मदन भण्डारी प्रतिष्ठानले शुन्य बजेटमा सामूदायिक विद्यायलको स्तरोन्नतिका लागि गरेको कामको प्रशंशा गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले तीनै तहका सरकारले प्रत्येक वडामा वाल वालिकाका लागि वाल उद्यान बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले कितावी अध्ययन भन्दा क्रिडास्थल बाट सिकिने शिक्षा प्रभावकारी हुने बताउनु भयो ।
समारोहमा गत शैक्षिक वर्षमा उत्कृष्ठ अङ्क ल्याउने प्रमाणपत्र तह नर्सिङ तर्फकी अस्मिता यादव,सामान्य चिकित्सा(एचए) तर्फ आसिका सुब्बा,बाली विज्ञान तर्फ रोजिना गौचन, सिभिल सव ओभरसियर तर्फ लेखानाथ कोइराला, जेटिए तर्फ सुमन सिटौला , सिएमए तर्फ विमला मगर र अनमी तर्फ सरस्वती तामाङलाई सम्मान गरियो । यस्तै उद्यमी ३१ जना महिला र प्रतिष्ठान सँग साझेदारीमा काम गरिरहेको परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्थालाई सम्मान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालको सभापतित्वमा भएको साधारण सभामा प्रतिष्ठानबाट प्रकाशित ‘स्वाभिमानको पहाड’ नामको पुस्तक लोकापर्ण गरियो । पुस्तकमा बामपन्थी नेता मित्रलाल सुबेदी बारेमा लेखिएका २५ वटा लेख रहेका छन्

प्रकाशित मिति: २०२०-०१-०३ , समय : ००:००:२६ , ४ वर्ष अगाडि