रुकममा नेकपा छोड्नेको लर्को

Enepal Patra Pvt. Ltd. , ५६४  पटक हेरिएको

रुकुम ,३ माघ ।  रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी परित्याक गरेर कांग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ । जिल्लाका विभिन्न ठाउँमा नेकपाका कार्यकर्ताहरुले देशमा कम्युनिष्टले केहि गर्न नसक्ने भन्दै कांग्रेसमा प्रवेश गर्ने गरेका छन् । स्थानीय तह, प्रदेश र केन्द्रमा समेत कम्युनिष्टको दुई तिहाईको सरकार हुँदा समेत नागरिकको जिवन स्तरमा परिवर्तन ल्याउन नसकेको भन्दै पूर्व माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्ने गरेका छन् ।

बिहिबार जिल्लाको बाँफिकोट गाउँपालिकामा नेकपा बाँफिकोट गाउँपालिका सदस्य ससे खत्रीसहित पाँच जनाले कांग्रेसमा प्रवेश गरेको बताइएको छ । कांग्रेस गाउँपालिकाको बैठकमा खत्री सहित पूर्व माओवादीका कार्यकर्ता कृष्ण गौतम, मनप्रसाद शर्मा लगायत पाँच जनाले आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेस बाँफिकोट गाउँपालिका प्रवक्ता धिरेन्द्रकुमार शाहीले जानकारी दिए ।

नवप्रवेशीहरुलाई पार्टीका गाउँपालिका संयोजक जनकुमार बाँठा, पूर्व जिल्ला सचिव हर्कसिंह खत्री लगायतका नेताहरुले अविरआवरण गरेर स्वागत गरेका थिए । गत माघ १ गते जिल्लाको चौरजहारीमा भएको कार्यक्रममा पनि एक दर्जन नेकपाका कार्यकर्ताहरुले कांग्रेसमा प्रवेश गरेको बताइएको छ । सहिद हरिभक्त ओलीको २० औं स्मृति तथा श्रद्धाञ्जली सभा कार्यक्रममा चौरजहारी नगरपालिका– ८ की सुशीला रसाइली, पुष्पा जैसी र सुष्मा बुढाथोकी, वडा नं. ७ की निर्मला केसी, बहादुर जैसी, प्रेम बहादुर जैसी, वडा नं ४ का मानबहादुर भण्डारी, ध्रुव भण्डारी, सेती भण्डारी लगायतका नेकपाका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।

प्रतिपक्षमा रहेको कांग्रेस पार्टी प्रवेश गर्ने नेकपाका कार्यकर्ताको योगदानबाट रुकुमका गाउँहरुमा आफ्नो पार्टी मजवुद हुँदै गएको संकेत गरेको उनको भनाई छ । हिउँदमा जतिसुकै सुख्खा भएपनि केहि पानी र हावापानीमा वदलाव हुने वित्तीकै दुबोले मौलाउने गरेको स्मरण गराउँदै सभापति ओलीले रुकुममा अब आफ्नो पार्टी पनि दुवौ झै पुनः मौलाउन सुरु गरेको दावि गरे । नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिएर संगठन निर्माणमा खटाउन समेत उनको भनाई छ ।

यसैबिच नेपाली कांग्रेस बाँफिकोट गाउँपालिकाको बैठक सम्पन्न भएको छ । गाउँपालिका संयोजक जनककुमार बाँठाको अध्यक्षता रहेको बैठकले पार्टी संगठनलाई सुदृट गर्नको लागि प्रत्येक वडाका प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला र केन्द्रीय स्तरका नेताहरुलाई समेत वडास्तरीय कार्यक्रममा सहभागि गराएर संगठनलाई बलियो बनाउने निर्णय भएको प्रवक्ता शाहीले जानकारी दिए ।हाम्राकुरा डटकमबाट 

प्रकाशित मिति: २०१९-०१-१७ , समय : २०:२५:१७ , ५ वर्ष अगाडि