पूर्व मुख्यमन्त्री चाम्लिङलाई यलम्बर स्मृति सम्मान 

Enepal Patra Pvt. Ltd. , ९९५  पटक हेरिएको

 

काठमाडौं १८ पुस । भारतको सिक्किममा २५ बर्ष लामो शासन गर्नु भएका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ राईलाई किरात राई यायोक्खा नेपालले यलम्बर स्मृति पुरस्कार ५०८० बाट सम्मान गर्ने भएको छ ।
आफ्नो कार्यकालमा सिक्किमको बिकास निर्माणमा उदाहरणीय काम गरेर किरात राई जातिको गरीमा उच्च बनाउने कार्य गरेको भन्दै दुई लाख २२ हजार २२२ रुपियाँ नगद सहित सम्मान गर्ने निर्णय भएको यायोक्खा महासचिव जनक राईले बताउनु भयो । यो राशी सहितको सम्मान सामाजिक संस्थाहरूमा नेपालकै प्रतिष्ठित र सर्वाधिक राशि रहेको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको दावी छ ।

प्रत्येक वर्षको माघ १ गतेलाई किरातीहरुले यले सम्बतको नयाँ बर्ष मान्दै आएका छन् । आगामी माघ १ गतेदेखि यले सम्बतको ५०८० लाग्दैछ ।

यले नयाँ बर्ष मनाउने क्रममा यायोक्खा केन्द्रीय समितिले काठमाडौको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गरी सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई सम्मानित गर्ने निर्णय भएको यायोक्खा केन्द्रीय प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताउनु भयो । चाम्लिङ सत्तामा हुँदा भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा योगदान पु¥याउँनु भएको यायोक्खाको ठहर छ ।

यस अघि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्ने दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राई र वान्तावा भाषामा पीएचडी गर्नु हुने डा. नोवलकिशोर राईलाई यो सम्मान प्रदान गरिएको थियो । यले सम्वत ५०८० लाई प्रदेश नं. १ किरात प्रदेश अभियान कै रुपमा मनाउने र देश, विदेशमा सोही अनुसार मनाउन निर्देशन भएको महासचिव राईले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०१-०३ , समय : २०:३५:३९ , ५ वर्ष अगाडि