हाम्रो समाचारदाता , १५४ पटक हेरिएको

विराटनगर, १९ कार्तिक । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले फोहोर व्यवस्थापनका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउनुभएको छ ।
नेपाल नगरपालिका संघले आयोजना कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा घरायसी, मेडिकल र इलेक्ट्रिक फोहोर उत्पादन हुने भएकाले त्यसको व्यवस्थापन गर्ने गरी काम गरिरहेको सुनाउनुभयो । तीनवटै क्षेत्रको फोहोर व्यवस्थापन गर्ने गरी काम गरिरहेको उहाँको भनाइ थियो । तीव्र सहरीकरणसँगै फोहोर व्यवस्थापन पनि चुनौती बन्दै गएको मेयर कोइरालाले बताउनुभयो । “बस्नयोग्य सहर बनाउन पहिला त सरसफाई नै गर्नुपर्ने रहेछ,” उहाँले भन्नुभयो, “दिसाजन्य फोहोर व्यवस्थापनमा अझै चुनौती देखिएको छ ।” त्यस्तै मेयर कोइरालाले जनताले स्थानीय सरकारलाई प्रतिपक्षका रुपमा लिने गरेको गुनासोसमेत व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय सरकारले गरेका कामको समेत जनताले अपनत्वसमेत ग्रहण नगर्ने गरेको दुखेसो पोख्नुभयो । स्थानीय सरकारसित भएको सीमित स्रोत–साधनले जनताका असीमित इच्छा र चाहना पूरा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । सहरी फोहोर व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणमा विभिन्न नगरपालिकाका योजना र फोहोर व्यवस्थापन शाखाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा संविधानविद काशीराज दाहाल, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली, बेलबारी नगरपालिकाका मेयर तथा नगरपालिका संघ कोशी प्रदेशका संयोजक डीपी राईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-११-०५ , समय : १५:१२:३२ , २ वर्ष अगाडि