पाँच महिनादेखि थलिएकी मायादेवी सहनीको मेयर कोइरालाको अग्रसरतामा उपचार सुरु

हाम्रो समाचारदाता , १२३  पटक हेरिएको

विराटनगर, १३ कार्तिक । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अग्रसरतामा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । मेयर कोइरालाको अग्रसरतापछि सहनीको आजैबाट कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको छ ।

आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएकी सहनीको घर मेयर कोइराला स्वास्थ्यकर्मीसहित पुग्नु भएको थियो । सहनीको स्वास्थ्य अवस्था बुझेपछि मेयर कोइरालाले तत्कालै स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई उपचारको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो । गर्दनको नशा च्यापिएर गम्भीर बिरामी भएकी सहनी चटपटाउनसमेत सक्दिनन् । गत असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नशा च्यापिएको थियो । सिकिस्त बिरामी भएपछि विराटनगरको विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै थलिएकी थिइन् ।

लगातार ओछ्यानमै थलिएपछि उनको शरीरका विभिन्न भागमा घाउ निस्किएर कुहिंदै गएको थियो । बिरामीका श्रीमान रोहित सहनी ठेला चलाएर परिवारको भरणपोषण गर्दै आएका थिए । बिरामीको हालत दिनदिनै गम्भीर हुँदै गएपछि श्रीमान रोहित सहनी श्रीमतीको ज्यान जोगाइदिन भन्दै महानगरपालिकालाई गुहार्न पुगेका थिए । सहनी परिवारको अवस्था बुझेपछि मेयर कोइराला स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र चिकित्सकको टोली लिएर आज सोमबार सहनीको घर पुग्नु भएको थियो । सो क्रममा मेयर कोइरालाले सहनीको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२३-१०-३० , समय : १८:००:३० , १ वर्ष अगाडि