ईनेपालपत्र , ३५८ पटक हेरिएको
कानेपोखरी, २२ साउन। मोरङको कानेपोखरीमा नालीभित्र मोटरसाइकल चालकको शव फेला परेको छ । मोटरसाइकल पनि नालीभित्रै भेटिएको छ ।
कानेपोखरी गाउँपालिका–५ का ३० वर्षीय शिवचन्द्र यादवलाई सोमबार बिहान नालीभित्र मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार यादव लु ३७ प ९९४२ नम्बरको मोटरसाइकल चलाएर उत्तरबाट पूर्व–दक्षिणतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यादवको शव र उनले चलाएको मोटरसाइकल बिहान ६ बजेतिर नालीभित्र देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । डीएसपी भण्डारीका अनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल नालीभित्र खस्दा चालकको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । टाउकोमा हेल्मेट नलगाएको अवस्थामा चालकको शव फेला परेको जानकारी उनले दिए ।
नालीमाथि विश्रामस्थल बनाइएको छ । मोटरसाइकल अनियन्त्रित भएपछि टाउको विश्रामस्थलमा ठोक्किएर मोटरसाइकलसहित नालीमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनास्थलबाट उठाएर शवलाई प्रहरीले पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी भण्डारीले बताए ।
प्रकाशित मिति: २०२३-०८-०७ , समय : १८:०४:५४ , १ वर्ष अगाडि