ईनेपालपत्र समाचारदाता , १३१ पटक हेरिएको
लेटाङ, १९ असार । देशैभर श्रमदानको अभियान चलिरहेको बेला लेटाङमा श्रमदानबाट चिसाङ खोलामा तटबन्धन गर्न मंगलबारदेखि अभियान सुरु गरिएको छ ।
लेटाङ वडा नम्बर २ को आह्वानमा चिसाङ खोलाको पश्चिमतर्फ लेटाङ वडा नम्बर १ र २ को सिमानामा पर्ने चिसाङ गंगाघाट क्षेत्रमा तटबन्धन गर्न श्रमदान सुरु गरिएको हो । उक्त क्षेत्रमा चिसाङ खोलाले खोलाको ढिल कटान गरी बस्तीतिर पस्न लागेपछि वडा कार्यलयले वडाक्षेत्रका बासिन्दाहरुलाई तटबन्धनको लागि श्रमदानमा सरिक हुन शुक्रबार आह्वान गरेको थियो । श्रमदानको पहिलो दिन वडा क्षेत्रका लाफा टोल र किराँत टोल तथा बिभिन्न संघसंस्थालगायतका ३ सय जनाको सहभागिता रहेको थियो ।
श्रमदानको लागि २÷२ बटा टोलहरुलाई फरक फरक दिन मिलाएर आउन वडाले सुचना जारी गरेको थियो ।
मंगलबारको श्रमदान कार्यमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेलगायतले सहभागिता जनाउनु भएको थियो ।
लेटाङ नगरपालिकाले २ सय थान जाली उपलब्ध गराएपछि वडा कार्यलयले श्रमदानबाट पहिलो चरणमा बर्षेनी बाढी पस्ने अति जोखिम क्षेत्रमध्ये ४ सय मिटर खण्डमा तटबन्धन गर्न लागेको हो । चिसाङ खोलाको उक्त क्षेत्रबाट खोला पस्दा लेटाङ १ को लोखरा, लेटाङ २ र ३, केराबारी ९ तथा बेलबारीका १, २ र ३ का करिब २५ हजार भन्दा बढी बासिन्दालाई प्रभाबित पार्दै आएको छ ।
२०४५ सालतिर लगाईएको तटबन्धन ५ बर्षअघि खोलाले बगाएपछि सो क्षेत्रका बासिन्दा त्रासपूर्ण रुपमा बस्दै आएका छन ।
बर्षातको समयमा खोला पसेर करोडौको धनजनको क्षति भैरहेको अबस्थालाई हेरेर आगामी दिनमा आउने सम्भाबित जोखम कम गर्न र सामाजिक कार्यमा अपनत्वको भावना जागृत गराउन जनश्रमदानको लागि आह्वान गरिएको र पहिलो दिन नै उल्लेख्य सहभागिता भएको लेटाङ वडा नम्बर २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सीनाले जानकारी दिनुभयो ।
वडामा रहेका संघसंस्था, राजनैतिक दल, समाजसेबीहरुसँगको सहकार्य र सल्लाहमा श्रमदानबाट तटबन्धन गर्न आह्वान गरिएको जनाउदै वडा अध्यक्ष तिम्सीनाले खोलाबाट ढुङ्गा संकलन तथा जालीलगाउन श्रमदानमा टोल स्तरको समुह बनाई अभियानको रुपमा काम थालिएको जनाउनुभयो ।
पहिलो चरणमा ६ दिनसम्मको पालो बनाई जनश्रमदानको लागि आह्वान गरिएको जनाउदै तिम्सीनाले हिउँदमा ढुङ्गा अभावको कारण तटबन्धन गर्न ठुलो धनराशी खर्च गर्नुपर्ने अबस्थालाई कम गर्न बर्षातको समयमा नै तटबन्धनको कार्य थालिएको बताउनुभयो । जनश्रमदानको काम चरण चरणमा गर्दे निरन्तर रुपमा गर्ने योजना रहेको बताउदै वडा अध्यक्ष तिम्सीनाले श्रमदानमा सहभागि हुन र सहयोग गर्न लेटाङ नगरपालिका र आसपासका सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उहाँले जनश्रमदान कार्यक्रममा ऐक्यबद्धता जनाउदै उद्योग बाणिज्य संघ लेटाङले पहिलो दिनको खाजाको प्रबन्ध गरेको र श्रमदान तथा सहयोग पुर्याउन बिभिन्न ठाँउबाट फोन आईरहेको बताउनु भयो ।
जनश्रमदानबाट तटबन्धन गर्ने कार्यको एक्यबद्धता तथा खोलाको अबस्था अवलोकन गर्न आउनुभएका नेपाल सरकार युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले मदन भण्डारी राजमार्गको चिसाङ खोलाको पुलभन्दा माथि खोलाको बिच भागमा बस्तीभन्दा अग्लो भई बसेको ढुङ्गा गिट्टीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । चुरे क्षेत्र भनेर उक्त क्षेत्रको भुभाग राखि राख्दा खोला बस्ती तर्फ जाने खतरा रहेको बताउदै मन्त्री लिम्बुले स्थानिय सरकारले खोलालाई च्यानलाईज गरेर बिचमा ल्याउने गरी योजना अघि सार्न आग्रह गर्नुभयो । लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावतीले बजेट अभावको कारण तटबन्धन गर्न नसकिरहेको अबस्थामा जनताहरु आफै अग्रसर भएर जनश्रमदानमा जुट्नुले स्थानिय सरकारलाई सहयोग पुगेको बताउनुभयो ।
बिगतका बर्षहरुमा श्रमदानबाट भएका कामहरुको उपभोग र संरक्षण राम्रो हुने गरेको स्मरण गर्दै नगर प्रमुख लावतीले जनश्रमदानलाई अझ प्रभावकारी र व्यवस्थीत गर्दै लैजाने नगरपालिकाको योजना रहेको बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०७-०४ , समय : १८:५५:३८ , १ वर्ष अगाडि