कानेपोखरीमा धिमाल समूदायको फुड फेष्टिवल हुने

hari , ४७१  पटक हेरिएको

फुड फेष्टिबलका विषयमा जानकारी दिँदै अध्यक्ष प्रकाश धिमाल

कानेपोखरी, १९ जेठ । धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी–७ मा धिमाल सांस्कृतिक महोत्सव एवम् फुड फेष्टिवलको आयोजना गर्ने भएको छ ।
पालिका भित्रका ६ वटै गाउँटोलमा जातिरि र सिरिजात सम्पन्न भएपछि कानेपोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरी यसवर्षको जातिरि पर्व समापन गर्न लागिएको हो । शुक्रबार पत्रकार सम्मेलन आयोेजना गरी फेष्टिवलका विषयमा जानकारी गराइएको हो । जेठ २५ गते कानेपोखरी गाउँपालिकाले धिमाल समूदायको जातिरि पर्वका अवसरमा पालिका भरि सार्वजनिक बिदा दिने भएको छ । कानेपोखरी गाउँपालिकामा धिमालको जनसङ्ख्या २ हजार ४ सय रहेको छ । धिमालहरूले बैशाख २ गते देखि असार २ गतेसम्म जातिरि पर्व मनाउने गरेका छन् ।

धिमालहरूको सघन बसोवास रहेका मोरङका कानेपोखरी, बेलबारी,उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाले धिमाल समूदायलाई हरेक वर्ष जातिरिका अवसर एक दिन बिदा दिँदै आएका छन् । धिमाल जातिको ऐतिहासिकता सँग जोडिएको कानेपोखरी कै नामबाट गाउँपालिकाको नामाकरण भएको हो ।
पृथ्वीनारायण शाहले विजयपुर आक्रमण गर्दा विपक्षबाट युद्ध लड्दा एक धिमाल महिलाले दुबै आँखा गुमाएकी थिइन् । उनै धिमाल महिलाले पोखरी परिसरमा आश्रय लिएर बसेको धिमाल अगुवाहरूको भनाई छ । धिमाल भाषामा दुई आँखा नदेख्नेलाई कानो भनिन्छ । कानोपोखरीबाट अपभ्रंस भई पोखरीको नाम कानेपोखरी रहेको भनाइ प्रचलनमा रहेको छ । यसअघि कानको आकारको पोखरी भएको कारणले पोखरी परिसरमा कानको प्रतिमा बनाएर राखिएको थियो । धिमाल जातीय विकास समिति कानेपोखरीका अध्यक्ष प्रकाश धिमालले भन्नुभयोे–धिमाल जातिको अपमान हुनेगरी पोखरीमा कानको प्रतिमा राखिएको छ । अब हामी ति साहसी महिला, जसले युद्ध लड्दा दुबै आँखा गुमाएकी थिइन, उनकै शालिक राखेर जेठ २५ गते अनावरण गर्नेछौं ।
धिमाल जातिका परम्परागत खाना चिचिरी, गेन्द्रो,बगिया,गोरा,चुदुर,पायाको चिया,घुँगी लगायतको प्रदर्शनी र बिक्री गरिने महोत्सवमा धिमाल समूदायका कलाकाररहरूले गीत सङ्गीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको उद्घाटनका लागि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी आउनु हुने भएको छ ।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : ११:१५:२५ , ११ महिना अगाडि