व्यवसायिक तालिम विनाको माछापालन घाटामा

Enepal Patra Pvt. Ltd. , ७२५  पटक हेरिएको

कानेपोखरी(मोरङ), १२ पुस । व्यवसायिक तालिम नलिइ ठूलो परिमाणमा एकै पटक माछापालन गर्दा मोरङको कानेपोखरी – ४ का मत्स्य किसानहरूले आर्थिक घाटा ब्योहोर्नु परेको छ ।
सोही स्थानमा ८२ वर्षीय जोखबहादुर राईले दुई वटा साना पोखरीमा माछापालेर वार्षिक १ लाख ५० आर्थिक लाभ लिइरहेको देखेपछि ६ जना मिलेर माछापालन गर्न सुरु गरेको दानबहादुर बस्नेतले बताउनु भयो । समूह बनाएर एकै पटक धेरै कमाउने सोचले व्यवसायमा होमियौं । तर, माछाका भूराको पहिचान, खाडीको व्यवस्थापन र उपचार , चारो र शत्रुबाट बचाउने उपायका बारेमा अध्ययन गर्न जरुरी रहेछ । उहाँले एउटै पोखरीमा धेरै प्रजातिका भूरा हाल्नु पर्नेमा त्यसो गर्न नसक्दा व्यवसाय घाटामा गएको बताउनु भयो । नैनी, कमन र रहुका भूरा भनेर ब्यापारीले विग्रेड र सिल्भर कार्पका भूरा दिँदा माछाको उत्पादन लक्ष्य अनुसार हुन नसकेको बस्नेतको बुझाई छ ।
हाल सम्म उहाँहरूले माछापालनमा २५ लाख रुपियाँ लगानी गरिसक्नु भएको छ । तर यो वर्ष लगानी नउठ्ने निश्चित भइसकयो । गत चैतमा १० क्विन्टल भूरा हाल्नु भएका उहाँहरूले सो अवधिमा ५ लाखको चारो खर्च गर्दा न्यूनतम ३७ लाखको माछा बिक्री गर्ने लक्ष्य थियो । तर,असोज,कात्तिक सम्ममा लक्ष्य भन्दा धेरै कम माछा उत्पादन भएको समूहका अगुवा जोगबहादुर राइले बताउनु भयो ।
राईले माछालाई चारो नपुगेको बताउनु भयो । मैले एक्लै गर्दा राम्रो थियो । समूहमा गर्दा राम्रो भइरहेको छैन् । उहाँहरूले पोखरीको डिलमा रहर दाल लगाउनु भएको छ । त्यस्तै हाँसको व्यवसायिक पालन पनि गर्नु भएको छ । हाँस र दाल बेचेर भए पनि लगानीको ब्याज सम्म उठ्ने उहाँहरू बताउनु हुन्छ ।
८२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय पूर्व गोर्खा सैनिक राईले १० वर्ष अघि देखि सोही ठाउमा माछापालन गरेर वार्षिक १ लाख ५० हजार भन्दा बढी आर्थिक लाभ लिएको बताउनु भयो । राम्रो आम्दानी हुन्छ भने किन धान रोप्ने त भनेर ६ विगाहामा पोखरी खन्यौं । भुरा लगायौं , तर उत्पादन राम्रो भएन । पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको सीमाको डाँस खोला किनारमा पानीको स्थायी स्रोत छ । बाह्रै महिना पानी नसुक्ने सो क्षेत्रलाई उहाँहरू अहिले मत्स्य पर्यटन केन्द्रका रुपमा विकसित गर्न क्रियाशील हुनुहुन्छ ।
गाउँमा मत्स्य पर्यटन केन्द्र सञ्चालन गर्ने महत्वकांक्षी योजना बनाएर अहिले अरु ५ जना साझेदार थपिएर उत्तम माछापालन केन्द्र नामको फर्म दर्ता गरेर उहाँहरू व्यवसायमा लाग्नु भएको छ । राईसँगै दानबहादुर बस्नेत,गोपाल घिमिरे , नबीन राई , नरबहादुर तामाङ र फूलमाया राई पनि व्यवसायिक माछापालनमा जोडिनु भएको छ । गत वर्षको चैतमा २० लाख रुपियाँ खर्च गरी उहाँहरूले ६ विगाहामा पोखरी खन्नु भएको छ । ४ विगाहा क्षेत्रफल जलासयले भरिएका १६ वटा पोखरीमा अहिले रहु, नैनी, कमन कार्प, सिल्भर कार्प जातका माछा छन् ।

प्रकाशित मिति: २०१९-१२-२९ , समय : ०५:००:४२ , ३ वर्ष अगाडि