खोटाङको केपिलासगढीका अति विपन्न विरामीहरुलाई निशुल्क उपचारको व्यवस्था

enepalpatra , २७०  पटक हेरिएको

 

खोटाङ ,४ बैशाख ।माेरङ ३ का  प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न विरामीलाई निःशुल्क र विपन्न विरामीलाई विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइदिएका हुन् ।

यो बिषयमा केएमसी र केपिलासगढी गाउँपालिकाबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रवन्धक नारायण दाहाल तथा केपीलासगढी गाउँपालिकाको तर्फबाट अध्यक्ष समिर राई र प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीले हस्ताक्षर गरेका छन् । केपिलासगढीका अति विपन्न विरामीलाई केएमसीमा १०० प्रतिशत सम्म छुटको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ । त्यस्तै, गाउँपालिकाले सिफारिस गरेर पठाएका विपन्न विरामीले पनि सहुलियत दरमा उपचार पाउँनेछन् ।

ओपीडीमा आएका विपन्न विरामीले २५ प्रतिशत छुट पाउँनेछन् । भर्ना भई उपचार गराउँनु पर्ने अवस्थाका विरामीलाई केएमसीले ५० प्रतिशत छुट दिनेछ । सम्झौता अनुसार एमआरआई, सीटीस्क्यान, शल्यक्रिया लगायत सबै किसिमको उपचारमा विरामीले छुट पाउँनेछन् । न्यून आय भएका र उपचार गराउँन नसकिरहेका विपन्न विरामीलाई उपचारमा सहजता प्रदान गर्न छुटको व्यवस्था गरिएको डा.शर्माले बताए । ‘खोटाङको दुर्गम क्षेत्र केपिलासगढीका विरामीहरुलाई उपचारमा सहयोग गर्न आगामी एक बर्ष सम्मका लागि सम्झौता गरिएको छ, त्यसपछि पनि सम्झौता थप हुन सक्छ,’ डा.शर्माले भने ।

यसैबीच, केपिलासगढी गाउँपालिका र केएमसीको सहकार्यमा गाउँपालिकाको केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन सोमबार केपिलासगढीका १ हजार ३ सय ५६ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका महाप्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १२५ जनाको भिडियो एक्सरे, १४२ जनाको रक्त परीक्षण र ८९ जनाको इसीजी गरिएको छ । केपिलासगढीको शिविर सकिएपछि बुधबार रावावेसीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने केएमसीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : २०:२२:२८ , १ वर्ष अगाडि