प्रधानमन्त्री गगन थापालाई बनाउन शेखर कोईराला सहमत

इनेपालपत्र , २५६  पटक हेरिएको

काठमाडौं, १९ मंसिर । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको मतपरिणाम आइसकेको छ । मतपरिणाम सार्वजनिक भएसँगै दलहरु नयाँ सरकार गठनको लागि गृहकार्यमा जुटेका छन् । यो निर्वाचनपछि प्रमुख दल बनेको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेगरि आफ्ना विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । तर, निर्वाचनअघि नै आफूलाई प्रधानमन्त्रीको दाबेदार बनाएर चुनावी मैदानमा होमिएका महामन्त्री गगन थापाले पनि आफू पार्टीको संसदीय दलको नेतामा उठ्ने घोषणा गरेका छन् ।

पार्टीभित्र पुस्ताान्तरणको मुद्दा जोडदार रुपमा उठाउँदै आएका थापाले यसपटक संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिष्पर्धा गर्ने निश्चित् छ । कांग्रेसमा टिकट सभापति देउवाले वितरण गरेकोले दलको नेतामा उनको विकल्प नभएको कतिपय नेताहरुको भनाई छ । तर, थापा भने अब देउवालगायतका शीर्ष नेताहरुले अभिभावकीय भूमिका निर्वाह गरेर आफूहरुजस्ता युवालाई नेतृत्वको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

दलको नेताको लागि थापालाई शेखर कोइरालाको साथ रहने भएको छ । कोइराला र थापाबीच यो विषयमा लामो छलफल भएको छ । थापाले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापतिमा कोइरालालाई साथ दिने र आफूलाई दलको नेता बनाउन कोइरालाले सघाउनुपर्ने प्रस्ताव राखेका थिए ।

जसमा कोइराला सहमत भएको बुझिएको छ । उता, अर्का महामन्त्री विश्वप्रकाश शर्माले त संसदीय दलको नेता बनाउनको लागि गगनलाई आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरिसकेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि थापालाई नै सघाउने बुझिएको छ ।

रिपोर्टस नेपाल बाट

 

प्रकाशित मिति: २०२२-१२-०५ , समय : ०४:१८:५८ , १ वर्ष अगाडि