गान्धिबादी नेता ढुङाना प्रत्यक्षमा सिफारिस

ईनेपालपत्र , ३४५  पटक हेरिएको

इटहरी, २० भदौ  । स्कुले जीवनदेखि नै नेपाली कांग्रेसका विभिन्न गतिविधिमार्फत राजनीतिमा सक्रिय रहेको नाम हो – राजीव ढुंगाना । इटहरी निवासी उनी सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान अध्यक्ष समेत रहेका उनी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । युवाहरूमाझ लोकप्रिय रहेका उनी प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र मानिन्छन् । यसपटक सुनसरी क्षेत्र नं. २ का मतदाताले नयाँ अनुहारलाई रुचाउने भएका कारण पनि ढुंगाना प्रतिनिधिसभा सदस्यका बलिया दाबेदारीका रूपमा अग्रपंक्तितमा छन् ।

०४३ सालमा पार्टीले पञ्चायतको स्थानीय चुनाव लड्ने निर्णय गरी उम्मेदवारी दिँदा पार्टीलाई जिताउन लागि परेका उनी सोही समयदेखि पार्टीमा क्रियाशिल छन् । स्कुले जीवनदेखि नै पार्टीमा सक्रिय रहेका ढुंगानाले नेविसंघको सभापति रहँदा आम युवाहरूको मन जितेको सुनाउँछन् । ‘नेविसंघको नेतृत्व गर्दै गर्दा देशैभरका युवाहरूको मन जितेको छु, विद्यार्थीसँगै आम मानिसको भावनालाई कदर गर्दै मेरो उम्मेदवारी हो,’ उनले यसअघि थपे, ‘जनतामाझ भिजेर निरन्तर पार्टीमा काम गरेको छु । ।’

२०४६ सालको जनआन्दोलन, ०६२/०६३ को दोश्रो जनआन्दोलन, देखि पार्टीद्वारा सञ्चालित हरेक आन्दोलन र संघर्षमा अग्रमोर्चामा सक्रिय रहेर काम गरेका ढुंगाना २०५७ सालमा विश्वप्रकाश शर्मा नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै गर्दा सदस्यमा निर्वाचित भए ।

निरन्तर राजनीतिमै डटिरहेका उनको सादगी जीवनले आम मानिस प्रभावित बन्छन् । नेविसंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षसम्म भइसकेका उनी गत १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

उनले आफूले विद्यार्थी राजनीति, पार्टीको राजनीतिमा रहेर काम गरेको अनुभव भएपनि एकपटक जनताको अभिमत जितेर जनताकै हितमा काम गर्ने आकांक्षा रहेको सुनाए ।कतिपयले तपाईँले जनताका लागि के गर्नुभयो भन्ने प्रश्न पनि आउँछन्,’ ढुंगानाले कतिपय कार्यक्रममा आफू जाँदा आइपरेका प्रश्न सम्झदैँ भन्छन्, ‘मैले पार्टीमा बसेर मात्रै योगदान गरिरहेको छु, अब जनताको हितमा काम गर्ने ठाउँमा जानका लागि आम मानिसको साथ चाहिन्छ ।’

उनले आफूले टिकट पाएको अवस्थामा सहज जित निकाल्दै आम मानिसको हितमा काम गर्ने तर्क गरे । सादगीपूर्ण जीवन र इमान्दारीताले भरिपूर्ण रहेका ढुंगाना राजनीतिमा अटल विश्वास राख्दै अगाडि बढिरहेका उनी प्रखर वक्ता समेत हुन् । राजनीतिमा लागेदेखि नै प्रतिनिधिसभामा लड्ने अठोट राख्दै आएका उनलाई यसअघि पार्टीबाट स्थानीय तहको निर्वाचन, प्रदेशसभाको निर्वाचनमा लड्नका लागि केन्द्रीय नेतृत्वबाटै आग्रह नआएको होइन । तर, आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामै उठ्ने अठोट लिएका उनले भने, ‘यसअघि ०७४ को निर्वाचनमै स्थानीय तहको निर्वाचनमा उठ्नुपर्छ भनेर पार्टी सभापतिबाटै आग्रह गर्दा पनि मैले प्रतिनिधिसभामै उठ्छु भनेको थिएँ, सोही कारण पनि आज क्षेत्र नं. २ बाट सिफारिस भएको छ ।’

यसअघि तीनपटकसम्म सुनसरी २ बाटै प्रतिनिधिसभाका लागि सिफारिस भएका ढुंगानाले पार्टीमा जुनसुकै बेला सक्रिय हुँदै योगदान पु¥याउँदै आएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि दलहरूले अहिले सक्रियता बढाउन थाललेका छन् ।

प्रकाशित मिति: २०२२-०९-०५ , समय : ०६:३४:०५ , २ वर्ष अगाडि