सिट बाँडफाँडबारे कांग्रेसमा आन्तरिक बहस

ईनेपालपत्र समाचारदाता , १४९  पटक हेरिएको

काठमान्डौ,  २५ साउन ।संघीय र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे सत्तागठबन्धनमा गृहकार्य सुरु भएको छ। गठबन्धनका दलहरूबीचमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धन गर्ने तय भएको छ। गठबन्धनभित्र कुन मोडालिटीमा सिट बाँडफाँट गर्ने र निर्वाचनमा कसरी जाने भन्ने विषय भने टुंगिन सकेको छैन। त्यसका लागि सत्तारूढ दलले कार्यदल गठन गरेको छ।

गठबन्धन दलमा सिट बाँडफाँटका विषयमा दुईवटा मोडेलमा छलफल सुरु भएको छ। पहिलो, स्थानीय तहको निर्वाचनका आधारमा जसको प्रभाव जहाँ राम्रो छ, त्यहीअनुसार अघि बढ्ने। दोस्रो, ०७४ सालको संघीय निर्वाचनमा आफूले जितेका क्षेत्रमा दाबी यथावत् राख्ने। स्थानीय तहको निर्वाचनको नतिजाले कांग्रेस एक्लैले पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एकल बहुमत ल्याउन सक्ने भन्दै कांग्रेसका केही नेताहरू गठबन्धनबिरुद्ध पनि बोल्न थालेका छन्। तर, कार्यदल नै बनिसकेकाले गठबन्धनका दलहरू बढीभन्दा बढी सिट आफूले कसरी लिने भन्ने ध्याउन्नमा छन्।

कांग्रेस सह–महामन्त्री किशोर राठोर जहाँ मत ट्रान्सफर गर्न सजिलो हुन्छ त्यहाँ गठबन्धन दलले सिट बाँडफाँट गर्नुपर्ने बताउँछन्। ‘स्थानीय धरातल हेरेर जित्न सक्ने स्थानलाई मूल्यांकन गरेर सिट दिनुपर्छ भन्ने कांग्रेसको कुरा हो।’

यसअघि २०७४ मा गठबन्धन दलको निर्वाचनको नतिजा हेर्दा संघीय निर्वाचनमा प्रत्यक्षमा माओवादी कांग्रेस भन्दा अगाडि थियो। त्यतिबेला माओवादीले ३६ सिट ल्याएको थियो। कांग्रेस भने २३ सिटमा सीमित थियो। राष्ट्रिय जनमोर्चाले भने १ एक सिट जितेको थियो। नेकपा एकीकृत समाजवादी भने त्यतिबेला एमालेमा थियो।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी पार्टी हाल जनता समाजवादी पार्टीले १० सिट जितेको थियो।नेपाली कांग्रेसका नेता रामहरि खतिवडा भन्छन्, ‘स्थानीय तहको निर्वाचनले नै कांग्रेसको बलियो उपस्थिति देखाइसकेकाले स्वभावकि रुपमा ६० प्रतशित कांग्रेसले लिनु पर्छ ।’

प्रकाशित मिति: २०२२-०८-१० , समय : १३:२१:५६ , २ वर्ष अगाडि