टोलमै भत्ता पाउँदा खुसी

rss , ७८१  पटक हेरिएको

गुल्मी २०, साउन । “भत्ता लिन लागेको दस वर्ष भयो । पहिले भत्ता लिन बैङ्कमा जानु पर्थ्यो । अहिले टोलमै आएर भत्ता दिन थालिएको छ । अत्यन्तै खुसी लागेको छ ।” इस्मा गाउँपालिका ५ का ८२ वर्षीय मनिराम भण्डारीले भन्नुभयो, “पहिले बैङ्कमा गएर लाम लाग्नु पर्थ्यो । अहिले समय र पैसा दुवैको बचत भएको छ ।”

सामाजिक सुरक्षा भत्ता आफ्नै टोलबाट पाउँदा भण्डारी मात्र होइन, नमकला बोहोरा पनि खुसी देखिनुहुन्छ । पहिलो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएकी नमकलाले टोलमै आएर भत्ता वितरण गरेको पाएपछि आफूजस्ता अरू ज्येष्ठ नागरिक उत्साही भएको बताउनुभयो ।

ज्येष्ठ नागरिकका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगी उपलब्ध गराउने इस्मा गाउँपालिकाले नीति लिएको थियो सोही अनुसार गाउँपालिकाले यतिबेला छवटै वडाका टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोही स्थानकी छमकली घर्तीले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभयो । “हामी पहिले बैङ्क जाँदा निकै दुःख हुन्थ्यो । कहिले गाडीमा तेल राखिदिनुपर्ने । कहिले दिनभर लाम लाग्नुपर्ने । अहिले आफ्नै टोलबाट भत्ता पायौँ । निकै खुसी छौं।”

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको विभिन्न १८ स्थानबाट एक हजार २३२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । पौडेलले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमा पुयाउने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम रहेको उल्लेख गर्दै अहिले सामाजिक सुरक्षा लाभग्राही नागरिकको परिचयपत्र नवीकरणका लागि पनि टोलटोलमा शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो

गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनताको भावनाअनुसार टोलटोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो ।

प्रकाशित मिति: २०२२-०८-०५ , समय : ०७:२९:४९ , २ वर्ष अगाडि