नामाकरण टुंगो नलागेसम्म बर्खे अधिवेशन सकिदैन : कोइराला

हाम्रो समाचारदाता , ३०८  पटक हेरिएको

ब्रह्मदेव यादव

विराटनगर , २० साउन । नेपाली कांग्रेस प्रदेश न. १ संसदीय दलका नेता राजीव कोइरालाले नामाकरणको टुंगो नलागेसम्म बर्खे अधिवेशन अन्त नहुने बताएका छन् । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि न्यू सृष्टि दैनिकसँग कुरा गर्दै कोइरालाले नामाकरणको टुंगो नलागेसम्म प्रदेशसभा बर्खे अधिवेशन अन्त्य नहुने बताए

५ वर्षसम्म नामाकरणको टुंगो नलगाएर पुनः प्रदेशसभाको निर्वाचनको लागि जनता समक्ष मत माग्न जाँदा नराम्रो सन्देश जाने भएकोले बर्खे अधिवेशनलाई लम्ब्याएर भएपनि नामाकरण टुंगो लगाउनु पर्ने पक्षमा कांग्रेस रहेको कोइरालाले स्पष्ट पारे । कोइरालाले केहिअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेतासँग नामाकरणबारे छलफल गरेका थिए ।

नेताहरूले सहमतिमै प्रदेशको नामाकरण टुंग्याउनु पर्ने सल्लाह दिएकोले आफू सहमतिकै पक्षमा नामाकरण टुंग्याउने पक्षमा रहेको उनले बताए । कांग्रेस सप्तकोशी र प्रमुख प्रतिपक्ष एमाले कोशी प्रदेश नामाकरणका लागि अगाडि सारेको प्रस्तावमा सहमति कायम हुन नसक्दा प्रस्ताव छलफलका लागि अगाडि बढ्न सकेन

एमालेका सांसद सर्वध्वज सावाले त प्रदेशसभाकै बैठकमा नामाकरणका लागि पार्टीले तोकेको नाममा सहमति जनाउन दवाव दिएको र जनताले पहिचानभन्दा तल नहट्नु भनेर दवाव सिर्जना गरिरहेकोले गुहार नै मागेका थिए।

सत्ता घटक नेकपा एस र माओवादी केन्द्र बहुपहिचानको आधारमा नामाकरण टुंग्याउनु पर्ने अडानमा छन् । समाजवादी सगरमाथा किराँत, कोशी किराँतको पक्षमा छ प्रदेशको नाम जेसुकै भएपनि नामको पछाडि किराँत छाड्ने पक्षमा छैन समाजवादी ।

पार्टीकोतर्फबाट प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामको पछाडि किराँत शब्द नराखे प्रदेशमा भीषण आन्दोलन हुने चेतावनी दिएपछि नामाकरण अन्योलग्रत बनेको हो । माओवादी केन्द्र लिम्बुवान किराँतको पक्षमा वकालतरत छ । जसपा नेपाल र संघीय लिम्बुवान मञ्च पहिचान कै आधारमा नामाकरण हुने पक्षमा छ ।

प्रकाशित मिति: २०२२-०८-०५ , समय : ०६:३९:१३ , २ वर्ष अगाडि