enepalpatra , ४७० पटक हेरिएको
ब्रह्मदेव यादव
विराटनगर, १३ साउन । सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालित उद्योगका संचालकहरूले सरकारको बजेट नीति पूर्वाग्राही रहेकोले उद्योग संचालन गर्न नसक्ने निष्कर्ष निकाल्दै ५ सयभन्दा बढी मजदूर र कर्मचारी कटौती गरेका छन् ।
औद्योगिक करिडोरमा संचालित मोरङका ४ ठूला उद्योगका संचालकले श्रम तथा रोजगार कार्यालय विराटनगरमा निवेदन दर्ता गराएर ५ सयभन्दा बढी मजदूर र कर्मचारी कटौती गरेको हो । अबौंको लगानीमा संचालित हुलास वायर इण्डष्ट्रिज लिमिटेड, पायनियर वायर प्रालि, प्रिमियर वायर प्रालि र कमला रोलिङ्ग मिल्स प्रालिले असार २६ गते श्रम तथा रोजगार कार्यालय विराटनगरमा निवेदन दर्ता गराएर मजदूर र कर्मचारी कटौती गरेको हो।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख खगेन्द्र सुवेदीले हुलास वायर्सले ९२, कमला रोलिङ्गले १५०, पायनियर र प्रिमियर वायर्स गरेर ५ सयभन्दा बढी मजदूर र कर्मचारीले रोजगारी गुमाउने अवस्था सिर्जना भएको बताए। प्रमुख सुवेदीले उद्योगका संचालक र मजदूर ट्रेड युनियनका पदाधिकारी र मजदूरबीच पटक पटक छलफल
गराएपनि उद्योगका संचालकले भारतबाट मह मूल्यमा कच्चा पदार्थ आयात गरेर उद्योग संचालन गर्ने अवस्था नरहेकोले उद्योग बन्दसहित कर्मचारी निष्कासन गर्न लागिएको जानकारी गराए।
मजदूर र कर्मचारीलाई कामबाट विदा गर्नु परेमा ३० दिन अघिनै श्रम तथा रोजगार कार्यालयमा निवेदन दर्ता गराएर जानकारी गराउनु पर्ने कानूनी व्यवस्था छ । कानून विज्ञसँग सरसल्लाह गरेर उद्योगका संचालकले मजदूर र कर्मचारी कटौतीका लागि श्रम तथा रोजगार कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
साउन २६ गते उद्योगले मजदूर कटौतीका लागि दर्ता गराएको ३० दिने समय सीमा सकिँदै छ । सरकारले आव ०७९/०८० को बजेट सार्वजनिक गर्दा प्रत्येक दिन ९० लाख रूपैयाँभन्दा बढी नाफा कमाउने वीरगंजको जगदम्बा स्टिल र जीआइ वायर उद्योगलाई उत्पादनका लागि विद्युतमा भारी छुट, कच्चा पदार्थदेखि भारतबाट आयात भइरहेको सामानमा भारी मात्रामा भन्सार छुटको व्यवस्था गरेको छ ।
तर देशभरी संचालित अन्य १२ भन्दा बढी स्टील उद्योगलाई आयात गरिरहेको सामानमा भन्सार राजश्व वृद्धि गरेकोले पूर्वी नेपालको जीआइ वायर रड, सेनेटाइजर, बनस्पती घ्यूतेल उद्योग धरासायी हुने अवस्था सिर्जना भएकोले बजेट
परिमार्जनका लागि सडक आन्दोलन गरे। सरकारले उद्योगीलाई बजेट परिमार्जन गर्ने आश्वासन दिएर पहिलो र दोश्रो चरणको सडक आन्दोलन स्थगित गराएपनि बजेट परिमार्जन गरेको छैन। जसका विरूद्ध अझै उद्योगी आन्दोलित छन्। उद्योग संचालन गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै मजदूर र कर्मचारी कटौती शुरू गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माण गर्दा चलखेल गरेको आरोप लागेको छ। बजेट सार्वजनिक गर्नु अघिल्लो रात केहि उद्योगका प्रतिनिधि अर्थ मन्त्रालयमा नै पुगेर अर्थमन्त्रीलाई प्रलोभनमा पारेर बजेट हेरेफेर गरेको आरोप लागेको छ। जसको कारण सरकारले शर्मालाई अर्थमन्त्रीबाट हटाएको छ भने बजेट हेरफेरका प्रमुख योजनाकार मधु मरासिनी अनिश्चितकालका लागि विदामा बसेका छन् ।
हुलास वायर्सका संचालिका युक्ति गोल्छाले भारतबाट महङ्गोमा कच्चा पदार्थ ल्याएर उद्योग संचालन गर्नुपर्ने अवस्था रहेकोले ९२ जना मजदूर कटौतीका लागि श्रम तथा रोजगार कार्यालयमा निवेदन दिएको बताइन् रूस युक्रेन विश्वयुद्धका कारण कच्चा तेलको मूल्य वृद्धि हुँदा औद्योगिक करीडोरका अधिकांश उद्योगले मजदूर कटौती गरेको छ ।
प्रकाशित मिति: २०२२-०७-२९ , समय : ०७:५१:३७ , ३ वर्ष अगाडि