पूर्व जनसरकार प्रमुख राईको नोवेलले निशुल्क उपचार गर्ने

‘सँगैका साथी हौं हेलिकप्टर माथि , मै भेडी गोठालो ......’ ठ्याक्कै यो गीत मोरङको कानेपोखरी ६ फेसवुक चौकका रामकुमार राईको जीवनसँग मेल खाएको छ

Enepal Patra Pvt. Ltd. , २२८२  पटक हेरिएको

कानेपोखरी(मोरङ) ३ पुस । नेपाली लोक सङ्गीतमा एउटा कालजयी गीत छ । ‘सँगैका साथी हौं हेलिकप्टर माथि , मै भेडी गोठालो ……’ ठ्याक्कै यो गीत मोरङको कानेपोखरी ६ फेसवुक चौकका रामकुमार राईको जीवनसँग मेल खाएको छ ।
कुनै समय जनसरकार प्रमुख बनेर जनताको वर्गीय हितका लागि बन्दुक उठाउनु भएका उनै राई अहिले उपचार नपाएर सङ्कटको जीवन ब्यथित गरिरहनु भएको छ । सँगै बन्द्क बोकेर हिडेका साथीहरू अहिले हेलिकप्टर होइन, प्लेन चढेर यात्रा तय गर्छन् । कोही राजनीतिक उच्च ओहोदामा पुगे । कतिले राम्रो दाम कमाए । तर, राई अहिले फोक्सोको विरामी हुँदा उपचार नपाएर ओछ्यानमा थलिरहनु भएको छ ।
उहाँको वास्तविकता सुन्दा आङ् जिरिङ्ग हुन्छ । रौं ठाडा हुन्छन । मन अमिलो हुन्छ । अनि धिक्कार्न मन लाग्छ, त्यो विगतलाई सम्झदा ।
५५ वर्षीय राईले यतिबेला पनि पार्टी छोड्नु भएको छैन । उहाँले समर्थन गरेकै पार्टीको सरकार छ । स्थानीय निकाय, प्रदेशमा र सङ्घमा । प्रधानमन्त्री कसैले उपचार नपाएर नमर्ने उद्घोष गरिरहनु भएको छ । स्वास्थ्य मन्त्री उहाँले मतदान गरेको नेता हुनुहुन्छ । मन्त्री मात्र होइन, वडासदस्य देखि , प्रधानमन्त्री सम्मका नेता उहाँले समर्थन गरेको दलको हुनुहुन्छ । तर, उहाँको उपचार कसैले गरिदिएनन । दुई छाक जाउलो जुटाउनै समस्या छ, राईको परिवारलाई । पानी र घाम सम्म छल्ने एउटा सानो झुपडीमा बस्दै आउनु भएका राईको घरको बेराबाट चिसो ठिही छिरिरहेको देख्दा मन कुडिन्छ । आँखा रसाउँछन् । तर जे सुकै भएपनि उहाँ आफ्नो नियति भोग्न बाध्य हुनुहुन्छ ।
बन्दुक बोकेर बर्गीय समानताको आन्दोलनमा हिड्नु भएका राईको यो नियति काङ्ग्रेस नेता डाक्टर सुनील शर्माको कानमा परिसक्दा उहाँले उपचारका लागि राईलाई अस्पताल भर्ना गर्नु भएको छ । बिहीबार बिहान स्थानीय समाजसेवी सन्तोष फुयल लगायतले राईलाई घरबाटै उपचारका लागि नोवेल मेडिकल शिक्षण अस्पताल पठाउनु भएको छ ।
डाक्टर शर्माले भन्नुभयो – भाषण गरेर होइन, साँच्ची कै दीन दुखीको उपचार निशुल्क गरेर समाज सेवा गर्नुपर्छ । चुनाव जित्नु हार्नु प्राविधिक कुरा मात्रै हो । राईको औषधि उपचार सहित निशुल्क उपचार हुने डाक्टर शर्माको भनाई छ ।

प्रकाशित मिति: २०१९-१२-१९ , समय : ०९:१८:११ , ४ वर्ष अगाडि