ईनेपालपत्र संबाददाता , ६ पटक हेरिएको
लेटाङ, ३१ असोज। बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा मोरङको लेटाङ नगरपालिका ३ स्थित पञ्चकन्या कालिका मन्दिरमा विशेष पूजाआजा गरी नेपाली सेनाले फूलपाती पूर्वी पृतना तालिम शिक्षालय, लेटाङमा भित्र्याएको छ। परम्पराअनुसार प्रत्येक वर्ष उक्त मन्दिरमा देवीको पूजा गरी सैनिक सलामीसहित फूलपाती शिक्षालयमा लैजाने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएको हो।
पूर्वी पृतना तालिम शिक्षालय, लेटाङका शिक्षाधिकारी (प्रमुख सेनानी) समन जंग कार्कीले पञ्चकन्या कालिका मन्दिरमा विशेष पूजाआजा गरेपछि विधिपूर्वक फूलपाती ग्रहण गर्नुभएको थियो। त्यसपछि नेपाली सेनाको टोलीले सैनिक सलामीसहित फूलपातीलाई पूर्वी पृतना तालिम शिक्षालयमा भित्र्याएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहको समेत उपस्थिति रहेको थियो।
फूलपाती पूजाको अवसरमा आयोजित कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडा नं. ३ का वडाध्यक्ष डम्बर राईलगायत स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सोही अवसरमा पञ्चकन्या कालिका मन्दिरको प्रवेशद्वार निर्माण गरी हस्तान्तरण गर्ने लेटाङ एडभान्स अस्पतालका सञ्चालक ईश्वर शाक्य र उहाँको परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा नवनिर्मित प्रवेशद्वारको उद्घाटनसमेत गरिएको थियो।
मन्दिरका अध्यक्ष भवनाथ घिमिरेका अनुसार वि.सं. २००४ सालभन्दा अगाडिदेखि नै उक्त स्थानमा देवीको पूजाआजा हुँदै आएको छ। त्यसबेला वन्यजन्तुको आतंक बढेपछि उक्त स्थानमा दैवी शक्तिको वासस्थान रहेको विश्वासका आधारमा मन्दिर स्थापना गरी नियमित पूजाआजा सुरु गरिएको उहाँले बताउनुभयो।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र नेपाली सेनाको ऐतिहासिक परम्परासँग जोडिएको पञ्चकन्या कालिका मन्दिरबाट फूलपाती भित्र्याउने चलनले लेटाङमा बडादसैँको विशेष महत्वलाई अझ जीवन्त बनाउँदै आएको छ ।
प्रकाशित मिति: २०२६-१०-१७ , समय : १२:२५:०४ , ३ घन्टा अगाडि