प्रशान्त निराैला , ७ पटक हेरिएको
धरान, २८ असोज। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), धरानले बिरामीको चाप व्यवस्थापन तथा स्वास्थ्य सेवालाई थप व्यवस्थित र सहज बनाउन इन्टरनल मेडिसिन (मेडिसिन) ओपीडीमा डिजिटल टोकन प्रणाली सुरु गरेको छ।
प्रतिष्ठानका अनुसार सेवाग्राहीले टोकन मेसिनमार्फत आफूले सेवा लिनुपर्ने चिकित्सक वा कोठाका लागि टोकन लिन सक्नेछन्। यस प्रणालीले लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्नुका साथै ओपीडीमा हुने भीड व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ प्रणालीअन्तर्गत टोकनमा रहेको क्यूआर कोड (QR Code) स्क्यान गरेर बिरामीले आफ्नो टोकन नम्बर, हाल चलिरहेको टोकन नम्बर र आफ्नो पालो आउन कति समय बाँकी छ भन्ने जानकारी प्राप्त गर्न सक्नेछन्। यसले बिरामीलाई आफ्नो पालोको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ।
आफ्नो पालो नजिकिएपछि मात्र ओपीडीमा उपस्थित हुन सकिने भएकाले अनावश्यक प्रतीक्षा समय घट्ने र अस्पताल परिसरमा हुने भीडसमेत कम हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवामा प्रविधिको प्रयोग बढाउँदै बिरामीमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिष्ठानको यो प्रयासले सेवा व्यवस्थापनमा सकारात्मक सुधार ल्याउने विश्वास गरिएको छ। डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनले बिरामीको समय बचत गर्नुका साथै अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ।
प्रकाशित मिति: २०२६-१०-१४ , समय : १३:४४:५८ , २ घन्टा अगाडि