ईनेपालपत्र संबाददाता , ५ पटक हेरिएको
काभ्रे, २८ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल तथा शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्।
आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन्। मन्दिरको नित्य पूजाको समयमा उनीहरू त्यहाँ पुगेर भगवतीको दर्शन गरी फर्किएको पाँचखाल-९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहको यस भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराइएको थिएन। स्रोतका अनुसार प्रधानमन्त्री शाहसँग रहेका सुरक्षाकर्मीहरू समेत सिभिल पोशाकमै रहेका थिए।
नवरात्र सुरु भएपछि पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि र भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ। नेपालका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक मानिने यस ऐतिहासिक मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ। सोही धार्मिक र ऐतिहासिक महत्त्वको मन्दिरमा प्रधानमन्त्री शाहले पनि पुगेर दर्शन गरेका हुन्।
प्रकाशित मिति: २०२६-१०-१४ , समय : १२:१६:५६ , १ घन्टा अगाडि